अबको संसदमा दुई थरी दल
काठमाडौं । नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन्। तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्दैछन्।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत निर्धारण हुँदैछ। अबको संसद्मा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् । प्रदेशसभाका लागि १.५ प्रतिशत थ्रेस होल्ड राखिएको छ। समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा तीन प्रतिशतभन्दा कम मत र प्रदेशसभामा १।५ प्रतिशतभन्दा कम मत गणना हुने छैन।
संघीय व्यवस्थापिकाअन्तर्गत जनताको प्रत्यक्ष र समानुपातिक मतबाट प्रतिनिधिसभामा २ सय ७५ जना निर्वाचित हुँदैछन्। प्रदेशसभाका लागि दुवै प्रणालीबाट ५ सय ५० जना प्रतिनिधि निर्वाचित हुँदैछन्। राजनीतिक दलले ल्याएको सदर मतको अनुपातमा विजयी सिटको बाँडफाँट समानुपातिक प्रणालीमा गरिनेछ।
समानुपातिकमा प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिनेछ। त्यसअन्तर्गत मतदाताले राजनीतिक दललाई मत दिँदैछन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट दलको सिट संख्या निर्धारण हुनेछ।
प्रतिनिधिसभामा १ सय १० जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेशमा २ सय २० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। प्रदेशसभा सांसदका लागि समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न तीन प्रतिशतको आधा अर्थात् १।५ प्रतिशत मत ल्याउने दलले प्रतिनिधित्व गर्न पाउनेछन्।
प्रतिनिधिसभाका लागि यदि कुनै ‘क’ दलले प्रत्यक्ष तर्फबाट एक सिट मात्र जित्यो र समानुपातिकमा २।९ प्रतिशत मत प्राप्त गरेको खण्डमा सामान्य दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्नेछ। समानुपातिकमा पाएको ‘क’ दलको २।९ मतको कुनै गणना हुनेछैन।
कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याएमा सामान्य दलका तर्फबाट प्रतिनिधित्व गर्नेछ। कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फबाट ३ प्रतिशतभन्दा कम मत ल्याएमा त्यस दलको सबै मत खेर जानेछ। उसले पाएको मतको कुनै गणना हुनेछैन।
नागरिक