मुख्य समाचार

मतगणनामा तारजाली

मतगणनामा तारजाली


लमजुङ । मंसिर २१ गते साँझ पाँच बजेबाट सुरु हुने मतगणनाका लागि लमजुङमा करिब ५० जना कर्मचारी छनौट गरिने भएको छ ।

मुख्य गणकका रुपमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कोमलप्रसाद आर्चाय रहने गरी ‘निजामति सेवा तर्फका राजपत्र अंकित द्धितीय र तृतीय श्रेणी कम्प्युटर अपरेटर र केही नायव सुब्वा तहका कर्मचारीहरुलाइ छनौट गरेका छौं’ जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमल्सीनाले भने, ‘एक दिने अभिमुखिकरण तालिम दिएर तयारी अवस्थामा राख्छौं ।’ मतगणनालाई विवादरहित बनाउने गरि मंसिर २१ गते साँझ पाँच बजेअघि सबै प्रक्रिया सम्पन्न गरेर पाँच बजे लगतै मतगणना शुरु गर्ने उनले जानकारी दिए ।

मतगणना स्थलको निमार्ण

जिल्ला समन्वय समितिको सभाहलमा मतगणना गर्ने गरि गणना स्थल निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना कार्यमा कुने किसिमको समस्या नआओस भन्ने उद्देश्यले तारजाली लगाईएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले बताए । आर्चायले भने “राजनितिक दलका एजेण्ट र कर्मचारीहरुलाई छुट्टा छुट्टै बस्ने गरि स्थल निमार्ण गरिएको र गणना कार्य सिसि क्यामाराको निगरानीमा समेत हुनेछ ।” स्थानिय तह निर्वाचनमा देखीएको समस्या नदोहोरीयोस भन्ने उद्देश्यले राजनितिक दलका एजेण्ट, कर्मचारीहरुलाई तारजालि र सिसि क्यामाराको निगरानीमा सुरक्षित तबरवाट राखिने छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि जिल्लाका १६५ मतदान केन्द्रका ४९५ मतपेटिका र अन्य सामाग्रीहरु सिसि क्यामाराको निगरानीमा जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । करिव १० दिनभित्र मतगणना सम्पन्न हुने कार्यालयको अनुमान छ । पहिलो चरणमा प्रतिनिधि सभाको मतगणना गरिने र त्यस पश्चात प्रदेश तथा समानुपातिक तर्फको मतगणना गरिने छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा क्षेत्र नम्वर १ मा कुल ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३६ हजार ९ सय ६० मत खसेको थियो । जसमा १९ हजार ५ सय महिला र १७ हजार ४ सय ६० पुरुषले मतदान गरेका थिए ।

त्यस्तै क्षेत्र नम्वर २ मा ६० हजार ५५२ मतदाता रहेकोमा ४० हजार ३६० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा २२ हजार ८२२ महिला र १७ हजार ५३८ पुरुषको मत खसेको थियो । कुल एक लाख १५ हजार ४४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३४० जनाले मात्र मतदान गरेका थिए ।

विशेष