चुनाव तराजुमय बन्यो, खुसी छु– मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले आफूप्रति मतदाताको सद्भाव उत्साहजनक र असाधारण देखिएको बताएका छन् ।
‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्यो हिँड्ने कुरामा हामी दृढ छौं,’ डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा मिश्रले भने, ‘देशभर तराजुमय वातावरण बनेको छ । त्यसबाट हामी उत्साहित छौं ।’
काठमाडौं १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका छन् ।
उनले सबै मतदान केन्द्र व्यवस्थित र सुरक्षित भएको पाइएको बताए । उमेर पुगेका मतदाताहरु सबैलाई मतदान गर्न जान आह्वान पनि गरे । एक मतमा देश बनाउने र आफ्नो भविष्य बनाउने ताकत हुने भएकाले कुनै पनि हालतमा मताधिकार प्रयोग गर्नुपर्ने मिश्रको आग्रह थियो ।
उनले भने, ‘देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ । त्यो हामी सबैले प्रयोग गर्नुपर्छ ।’