मुख्य समाचार

मतगणना धमाधम, अधिकांश क्षेत्रमा वाम गठबन्धन अगाडि, कहाँ कसले लिए अग्रता !

मतगणना धमाधम, अधिकांश क्षेत्रमा वाम गठबन्धन अगाडि, कहाँ कसले लिए अग्रता !

काठमाडौं  । पहिलो चरणमा निर्वाचन भएका अधिकांश क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतगणना भइरहेका जिल्लाहरुमध्ये अधिकांशमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।


गोरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हरि अधिकारीले अग्रता लिइरहँदा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले पछ्याइरहेका छन् । क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा। बाबुराम भट्टराईले अग्रता लिएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले पछ्याइरहेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेका शेरबहादुर तामाङले अग्रता लिएका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर जबराले पछ्याइरहेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका डा। रामशरण महतले पछ्याउँदै छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेका नारायणप्रसाद खतिवडा अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले पछ्याउँदै छन् ।

त्यस्तै धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले अग्रता लिइरहँदा नेपाली कांग्रेसका विश्वप्रसाद अर्याल निकै पछाडि परेका छन् । धादिङकै क्षेत्र नम्बर २ मा नेकपा एमालेका खेम लोहनीले अग्रता लिइरहँदा नेपाली कांग्रेसका दिलमान पाख्रिन पछ्याउँदै छन् ।

रसुवामा भने नेपाली कांग्रेसका मोहन आचार्यले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका जनार्दन ढकालले पछ्याउँदै छन् ।

ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार यज्ञराज सुनुवारले अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका रामहरि खतिवडाले पछ्याउँदै छन् ।

राजधानी उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधिसभा र ३० प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना ललितपुरबाहेक अन्यत्र शुरु हुन सकेको छैन ।

ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले पछ्याउँदै छन् । क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य अगाडि हुनुहुन्छ भने उनलाई नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याउँदै छिन् ।

दार्चुलामा पनि वामगठबन्धनका उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका विक्रमसिंह धामीले पछ्याउँदै छन् ।

रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका अमरसिंह पुनले पछ्याउँदै छन् ।

खोटाङमा नेकपा एमालेका विशाल भट्टराईले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका सरस्वती बजिमयले पछ्याउँदै छिन् । पाँचथरमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङले अग्रता लिइरहँदा नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेले पछ्याउँदै छन् ।

लमजुङमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका दिलबहादुर घर्तीले पछ्याउँदै छन् । जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका राजीवविक्रम शाहले पछ्याउँदै छन् ।

रामेछापमा पनि नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले पछ्याउँदै छन् । डोल्पामा नेकपा एमालेका धनबहादुर बुढाले अग्रता लिइरहँदा नेपाली कांग्रेसका अंगतकुमार बुढाले पछ्याउँदै छन् ।

संखुवासभामा पनि नेकपा एमालेका राजेन्द्र गौतमले अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका दीपककुमार खड्काले पछ्याउँदै छन् ।

ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराईले फराकिलो अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका केशवप्रसाद दाहालले पछ्याउँदै छन् ।

सोलुखुम्बुमा पनि नेकपा माओवादी केन्द्रका हेमबहादुर राईले मतान्तर फराकिलो पारेका छन् । उनलाई नेपाली कांग्रेसका बलबहादुर केसीले पछ्याउँदै छन् ।

बैतडीमा पनि नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका नरबहादुर चन्दले पछ्याउँदै छन् ।

विशेष