सोमपालले गरे करियरकै उत्कृस्ट बलिंग
सोमपाल एक्लैले ५ विकेट हात पारेपछि युएईले ४९.२ ओभरमा सबै विकेट गुमाउन पुगेको हो। १० ओभर बलिंग गरेका सोमपालले १ मेडन ओभर सहित मात्र २७ रन खर्चिएका थिए। यो अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको उत्कृस्ट बलिंग हो भने ५ विकेट हात पारेको दोश्रो पटक हो। यस भन्दा अघि उनले मलेसियासंग सन् २०१४ मा ५ विकेट हात पारेका थिए। २०१४ एसीसी प्रिमियर लिगमा नेपाललाई जिताउने क्रममा उनले १० ओभरमा ३ मेडन ओभर सहित ४७ रन खर्चेर ५ विकेट हात पारेका थिए।
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पीयनसिपमा नेपाली बलरले ५ विकेट लिएको पनि यो पहिलो पटक हो। शरद भेसावकरले केन्या बिरुद्ध लिएको ४ विकेट हालसम्मको उत्कृस्ट बलिंग थियो।
सेख जायद मैदानमा टस जितेर नेपालले युएईलाई ब्याटिंगको निम्तो दिएको थियो। नेपालले सुरुवात देखि युएईमाथि दबाब बनायो र युएईको पहिलो ५ विकेट ३९ रनको स्कोरमै हात पार्यो। माथिल्लो क्रमका ४ जना ब्याट्सम्यानलाई सोमपाल एक्लैले पेभेलियन फर्काएका थिए।
अघिल्लो खेलमा ६२ रन बनाएका रोहन मुस्तफा ८ रनमै सोमपालको बलमा बिनोद भण्डारीको हातबाट समातिए। यस्तै ८१ रन बनाउदै पहिलो खेलका प्लेयर अफ द म्याच गुलाम सब्बिरलाई पनि ० रनमै किपर दिलिप नाथको हातबाट सोमपालले आउट गराएका थिए।५ विकेट गुमेपछि युएईलाई सातौँ नम्बरमा ब्याटिंग गर्न आएका अद्नान मुफ्तीले उत्कृस्ट ब्याटिंग गर्दै थोरै रनमै अलआउट हुन जोगाए। उनले मात्र ८९ बलमा ८ चौका र ३ छक्का मदतले १०४ रन प्रहार गरेपछि सस्तोमा युएईलाई समेट्ने चाहना पुरा हुन पाएन। मुफ्तीले छैठौ विकेटको लागि मोहम्मद बुटासंग ८० रनको साझेदारी गरेका थिए। बुटाले ३७ रन बनाए।
अद्नानको विकेट सोमपालले ४८ औं ओभरमा लिंदै आफ्नो ५ विकेट पुरा गरेका थिए। नेपालको लागि ललित सिंह भण्डारी, पारस खड्का र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे।मोहम्मद नाबेदको विकेट हात पारेका ललितले नेपालको लागि लिएको यो पहिलो विकेट हो।