मुख्य समाचार

प्रचण्डको मत महिला गणकले मात्र गन्ने

प्रचण्डको मत महिला गणकले मात्र गन्ने


चितवन । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि शुरु हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो ।

चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो । यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिए ।

विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो । स्थानीय तहको निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो । कभर्डहलमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणनास्थल बनाइएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

तीनवटा निर्वाचन क्षेत्रको नौ स्थानमा मतगणना हुनेछ । यसपटक मतगणनामा कर्मचारी भने सबै महिला राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले भने, “हाम्रो तर्फबाट गणक महिला छानिसकिएको छ, दललाई पनि महिला राख्न आह्वान गरिएको छ, सकेसम्म महिला नै राख्ने प्रयासमा छौँ ।”

शर्माले अहिले मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको जानकारी दिए । चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।

विशेष