समाज

बिकास निर्माणमा महिला, पुरुषको उस्तै सहभागिता

बिकास निर्माणमा महिला, पुरुषको उस्तै सहभागिता

माघ १९ । जाजरकोट जिल्लाको एक गाउँमा भैरहेको बिकास निर्माण कार्यमा महिला, पुरुष एकनासको सहभागिता जनाएर नमुना प्रस्तुत गरेका छन् । महिला, पुरुष बिचको समान अधिकार र समान सहभगिताको चर्चा चलिरहेको वेला बिकास निर्माण कार्यमा एकनासको सहभागिता जनाएर नमुना प्रस्तुत गरेका हुन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अनुदानमा द्धन्दउत्तर नमुना बस्ति बिस्तार कार्यक्रम अन्तरगत भेरीमालिका नगरपालीका वडानं–१ पिपेज्युला सिंचाई आयोजनाको निर्माण कार्यमा महिला, पुरुषहरुले एकनासको सहभागिता जनाई रहेका छन् । हाम्रो गाउँ राम्रो बिकासका लागि निर्माण कार्यमा पुरुष सरह महिलाहरुले पनि सहभागिता जनाई रहेको जसु रानाले वताईन । प्राय गाउँको बिकास निर्माणमा अगुवाई गर्दै आएकी जसु रानाले भनिन्–“हालै देशमा जारी संबिधानले महिला अधिकारलाई स्पष्ट गरि दिएको छ । त्यसको ब्यबहारिक रुपमा प्रयोग गर्न महिलाहरु आफूले पनि जान्नु पर्छ । कुनै पनि काममा पुरुष भन्दा कम भएर महिलाहरु पछि हट्नु हुदैन ।”

क्रमागत आयोजनाका रुपमा रहेको पिपेज्युला सिंचाई आयोजनाको निर्माण कार्य गत बर्ष देखि सुरु गरिएको आयोजना निर्माण समितिका अध्यक्ष भीमबहादुर रानाले जानकारी दिए । गाउँको बिकास निर्माण भएको हुदा गाउलेहरुनै निर्माण कार्यमा जुटेको अध्यक्ष रानाले वताए । उक्त निर्माण कार्यमा दैनिक १ सय ५ जना गाउँलेहरु सहभागी हुने र त्यसमा ५० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागीता रहने अध्यक्ष रानाले जानकारी दिए । निर्माण कार्यमा ठुलो संख्या सहभागी भएता पनि सिंचाई कुलोमा गुणस्तरियता कायम गरेरै छोड्ने अध्यक्ष रानाले दावी गरे । पिपे खोला देखि खरिखोला सम्मको सिंचाई आयोजनाको गत बर्ष ५ लाख अनुदानमा २ सय मीटरको आरसिसी कुलो निर्माण गरिएको अध्यक्ष रानाले जानकारी दिए । यस बर्ष २५ लाख अनुदानमा करिव १३ सय मीटर आरसिसी कुलो निर्माण कार्य अगाडी बढिरहेको रानाले वताए । पिपेज्युला सिंचाई आयोजनाको जम्मा लम्वाई १७ सय मीटर रहेको प्राबिधीक कर्णबहादुर सिंहले जानकारी दिए ।

उक्त आयोजना सम्पन्न भएमा आयोजनावाट ८५ घरधुरी लाभाम्वित हुने जनाईएको छ । साढे ८ सय रोपनी भन्दा बढी जमिन आयोजनावाट सिंचाई हुने स्थानियहरुको भनाई रहेको छ । नियमित रुपमा अन्नवाली उत्पादन गर्दै आएका किसानहरु सिंचाई आयोजना सम्पन्न भएपछि ब्यबसायिक रुपले तरकारी खेति गर्न तर्फ लाग्ने आयोजनाले लक्ष्य राखेको छ ।

Jajarkot

विशेष