स्वास्थ्य

पहाडी जिल्ला जुनोसिस रोगको उच्च जोखिममा

पहाडी जिल्ला जुनोसिस रोगको उच्च जोखिममा
माघ - १९ । जाजरकोटलगायतका पहाडी जिल्लाहरुमा जुनोसिस रोग लाग्न सक्ने जोखिम उच्च रहेको भन्दै पशु चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् । घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप नलगाउने गरिएकाले रोगको संक्रमण फैलने सक्ने तर्फ विज्ञहरुले सतर्क रहन आग्रह गरेका हुन् ।

जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सदरमुकाम खलंगामा जुनोसिस रोगबारे गरिएको अन्र्तक्रिया कार्यक्रममा सावधानी नअपनाउँदा जुनोसिस रोग बढ्न सक्ने र त्यसले मृत्युसम्मको अवस्थामा पुर्याउन सक्ने भन्दै सावधानी अपनाउन सरोकारवालालाई चिकित्सकले सचेत गराएका छन् । घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप नलगाउँदा र उक्त कुकुरलाई स्याल, फ्याउरो लगायतका जंगली जनावरले टोक्दा कुकुर बहुलाउने गर्दछन् । बहुला कुकुरले मानिसलाई टोक्दा रेविजको संक्रमण हुने गर्दछ भने, पशुहरुलाई टोक्दा पशुको मासु, दूधलगायतका खाद्य पदार्थ राम्ररी नपकाएर खाँदा रेविज सर्न सक्ने संभावना रहेको पशु चिकित्सक डा.ऋषि सापकोटाले बताए । 'रोगबाट बच्न कुकुरलाई रेविजविरुद्ध खोप लगाउन, मासु तथा दूध राम्ररी पकाएर खानुपर्छ' डा. सापकोटाले भने 'विकसित देशमा पूर्व सावधानी र सचेतता अपनाउने हुनाले रोग फैलन सक्ने संभावना शून्य छ भने नेपाल लगायतका विकासशिल देशमा यो रोगको संक्रमण फैलन सक्ने संभावना ९३ प्रतिशत रहेको छ ।' जुनोसिस रोग लाग्न नदिन सफा र स्वच्छ मासु सेवन गर्नु पर्छ । चालु आर्थिक बर्षमा एक हजार एक सय ६० पशुपंक्षिलाई रेविजविरुद्धको खोप लगाइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यो रोगबारे जनचेतना जगाउने र सावधानीका उपायबारे आमसंचारका माध्यामबाट प्रचार प्रसार गर्नु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

जाजरकाेट जुनोसिस

विशेष