खेल

दृष्टिविहीन विश्वकप टी–२० मा नेपालको पहिलो जीत, दक्षिण अफ्रिका ६ विकेटले पराजित

दृष्टिविहीन विश्वकप टी–२० मा नेपालको पहिलो जीत, दक्षिण अफ्रिका ६ विकेटले पराजित
माघ–२० । दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रेको नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाउँदै आफ्नो पहिलो जित दर्ता गरेको हो । नेपालको जितको लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रन बनाए । त्यस्तै सुनिल राना मगरले ३८, रमेश बहादुर बानियाले २४, लोक बहादुर थापाले ९ र सुनिल थापा मगरले ५ रन बनाए । यसअघि अस्ट्रेलिया र बंगलादेशसँग नेपालले नमिठो हार व्यहोरेको थियो । प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र इङल्याण्ड सहभागी छन् । सबै ९ टोलीले राउण्ड रबिन लिगको आधारमा प्रतिस्पर्धा गर्दै शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता आगामी फेब्रुअरी १२ सम्म चल्नेछ । नेपालले चौथो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।

दक्षिण अफ्रिका दृष्टिविहीन नेपाल विश्वकप टी–२०

विशेष