खेल

सिमरा गोल्डकप सुरु, आयोजक पहिलो खेलमै सरस्वती क्लबबाट पराजित

सिमरा गोल्डकप सुरु, आयोजक पहिलो खेलमै सरस्वती क्लबबाट पराजित
माघ–२० । बाराको सिमरा रंगशालामा बिहीबारदेखि सुरु भएको रुस्लान आठौँ सिमरा गोल्डकपमा काठमाडौँको सरस्वती युथ क्लबले विजयी सुरुवात गरेको छ । सरस्वती क्लबले आयोजक नव जनजागृति युवा क्लबलाई २–० ले हराउँदै जित दर्ता गरेको हो । सरस्वतीको जितको लागि तीर्थ बस्नेत र जोनम लिगलले १–१ गोल गरे । खेलको २२ औँ मिनेटमा कप्तान दिपेश श्रेष्ठको पासलाई सदुपयोग गर्दै तीर्थले सरस्वतीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै २७ औँ मिनेटमा पाएको पेनाल्टीबाट जोनमले गोल गर्दै २–० को जित दिलाए । खेलको 'पतन्जली म्यान अफ दि म्याच' सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित हुँदै पाँच हजार नगर प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार सिएमजि संकटा र एपिएफ क्लबबिच खेल हुनेछ । प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन् भने मोफसलबाट साविक विजेता विजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् । ए डिभिजनका पाँच र मोफसलका पाँच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले २ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगद पाउनेछन् ।

नव जनजागृति युवा क्लब रुस्लान आठौँ सिमरा गोल्डकप सरस्वती युथ क्लब

विशेष