जाजरकोटको एक घरमा देखियो यस्तो आकृति, मेटाउँदा पनि मेटिँदैन
माघ २१ । जाजरकोट जिल्लाको एक गाउँमा घरको भित्तामा बिगत तीन बर्षदेखि अनौठा दैविक आकृतिहरु देखिने गरेका छन् । ती आकृतिहरु कुनै मानव बनावटी नभएर स्वतः घरको भित्तामा देखिने आकृतिहरु हुन् ।
कार्कीगाउँ–४ काँडा स्थित तुल्छे ओलीको घरको भित्तामा आफै बनेका बिभिन्न आकृतिहरु मान्छेले देख्न सकिने किशिमका छन् । तीन बर्ष पहिलेदेखि देखा परेका उक्त आकृतिहरु कसरी बनेका हुन् भन्ने कुरा आफूलाई केही थाहा नभएको तुल्छे ओलीले जानकारी दिए । भित्तामा देखिने आकृतिहरु पहिलो पटक आफूले देखेपछि घरकै बच्चाबच्चीले हातले कोरेर बनाए जस्तो लागेको उनले बताए ।
भित्तामा फोहर जस्तो देखिने भएकाले उक्त आकृतिहरु मेटाउन गोबर माटोले धेरै पटक पोति सकेको तर पोतेको केहि दिन भित्रै झनै प्रस्टसँंग देखिने गरेका छन् । गोवर माटोले पोतेर मेटाउन नसकेपछि भित्तामा पानीले धेरै पटक सफा पनि गरिसकेको तर मेटाउन नसकेको उनले बताए ।
धार्मिक आस्था राखे तापनि घरमै देवी देवताको धामी तथा पूजारी भएर आफूले कहिले पनि काम नगरेको ओलीले बताए । पाँच बर्ष पहिले निर्माण गरिएको घरको भित्तामा तीन बर्ष पहिलेबाट यस्तो देखिन थालेको उनले जानकारी दिए ।
त्यस्ता आकृति देखा पर्न थालेयता कुनै पनि अशुभ नभएको उनले बताए । ओलीले भने, ‘सपनामा घरका ढोका खुला राख्नू, अरुलाई पनि आकृति हेर्न दिनु भन्ने सन्देश आएको देख्छु ।’
अनौठा आकृतिहरु देखा परेको ओलीको घर मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै पर्छ । जिल्ला सदरमुकाम खलंगावाट वलीको घरमा पुग्नलाई ६ घण्डाको पैदल यात्रा गर्नु पर्छ ।
–दीपबहादुर घर्ती/जाजरकाेट