देश

आधा किलोमिटरको ट्रयाक नखुल्दा रोकियो भेरी करिडोर

आधा किलोमिटरको ट्रयाक नखुल्दा रोकियो भेरी करिडोर

माघ - २१ । जाजरकोट—डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जिल्लाको रिम्नास्थित मोटरेबल पुल जोड्ने आधा किलोमिटर पहुँच मार्ग नबन्दा स्थानियले लामो समयदेखि सास्ती पाइरहेका छन् । ठूलो भेरी नदीमा निर्माण भएको मोटरेबल पुलदेखि रुकुम तर्फको छेपारे—चिसापानी सडकखण्डको पाँचसय मिटर सडक नवनेका कारण जाजरकोट, रुकुम र डोल्पाका स्थानीयलाई मालसमान ढुवानी र यात्रामा निकै सास्ती हुने गरेको हो । ठूला–ठूला निर्माण सामग्रीलगायतका मालसमान लैजान निकै समस्या भैरहेको छ । सडक खण्ड खुलेको ५ बर्ष विति सक्यो । भेरीनदीमा मोटर पुल बनेकै पनि एक बर्ष विति सक्यो तर, सडक र पुल जोड्ने पहुँच मार्ग अझै बन्न सकेको छैन । भेरी करिडोर अन्र्तगत जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको सडक निर्माण कार्यदलले उक्त बाटोको ट्रयाक नखोलेर अपलत्र छाडिदिएपछि स्थानियलाई सास्ती भएको हो । रिम्ना पुलदेखि छेपारेसम्मको पाँचसय मिटर सडक सेनाले निर्माण नगरेरै त्यसभन्दा अगाडिको सडक बनाइरहेको छ । अहिलेसम्म उक्त स्थानको सडक नबनेका कारण यात्रामा निकै सास्ती भएको डाँडागाउँ ४ छेप्काका लालबहादुर वलीले बताए । वरपर सडक बनेको छ पुल पनि बनिसक्यो विचको सडक नबन्दा मोटरसाईल लैजान, मालसमान लैजान निकै सास्ती हुने गरेको वलीले बताए । बाटो नबन्दा यात्रुहरु गाडी फेर्न र पैदल हिड्न बाध्य भएका छन् । सडक नबन्दा जनतालाइ निकै सास्ती भएपनि सरोकारवालाले कुनै चासो नदिएको उनले गुनासो गरे । अन्य स्थानको सडक वन्यो पुल वन्यो तर, यति सानो भागमा काम नहुदा भिरालो वाटोमा पैदल यात्रा निकै खतरापुर्ण भएको रिम्नाकि स्थानिय तुल्सी खड्काले बताइन । 'भेरी नदीको किनारामा साँघुरो र भिरालो वाटो भएका कारण सर्वसाधारण वालवालिका र वृद्धवृद्धा र असक्तहरुलाइ हिडडुल गर्न निकै गाह्रो भएको छ,' खड्काले भनिन् ।

नेपाली सेनाको जाजरकोट—डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं प्रमुख सेनानी विश्ववन्धु पहाडीले रिम्ना पुलको ठेकेदारले नै सम्झौताअनुसार पुलको दुवै पट्टी एक सय पचास मिटर भागको काम गर्नु पर्ने भएकोले आफूले काम नगरेको बताए । पुलको निर्माण कम्पनीको जिम्माको काम सम्पन्न भएपछि बाँकी भागको आफूले गर्ने प्रमुख सेनानी पहाडीले बताए । उनले सडक निर्माणवारेमा सडक विभागमा आवश्यक छलफल र परामर्श भैरहेको जानकारी दिए । बाँकी खण्डको काम सडक विभागले नै गर्न जिम्मा दिएका छौ पहाडीले भने । उता रिम्नापुलका निर्माणकर्ता अनक कन्सट्रक्सनका प्रोप्राइटर श्रीराम महर्जनले आफूहरुले पुलको पहुचमार्गको रुपमा केही भागको मात्र जिम्मा भएको तर, सवै सडक बनाउने जिम्मा आफ्नो नभएको बताए । उनले पुलको छेउभन्दा माथि धेरै दुरी रहेकोले यसको जिम्मा सेनाले नै लिनु पर्ने बताए । पुलको पहुचमार्ग निर्माण पनि आफूले केहि समय भित्रै सक्ने प्रोप्राइटर महर्जनले बताए । पहुँच मार्ग नबन्दा नलसिङ गाड जलविद्युत आयोजनाका निर्माण सामग्री लैजान समस्या परिरहेको छ भने, यसै सडकखण्डको भेरी नदीको चिसापानीमा निर्माणाधिन मोटरपुल निर्माण सामग्री लिन नसक्दा अलपत्र परेको छ । पूर्वी जाजरकोटवासी, डोल्पावासी र पश्चिम रुकुमेली हिड्ने प्रमुख बाटो यही हो । तर, पहुँचमार्ग नबन्दा वाटो भिरालो र अप्ठेरो भएका कारण पुलवाट गाडी चल्ने स्थान समान लैजान र पैदल हिड्नसमेत निकै जोखिम मोल्नु पर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशिष थापामगरले अलपत्र परेको उक्त सडकको ट्रयाक खोल्न पहल गर्ने बताए । सेनाले जिम्मा लिएको काम सहमतिमा सडक डिभिजनले जिम्मा लिएरै भएपनि तत्काल काम थालिने जानकारी डिभिजन प्रमुख थापामगरले बताए ।
दीपबहादुर घर्ती/जाजरकोट

Jajarkot जाजरकोट—डोल्पा भेरी करिडोर सडकखण्ड

विशेष