खिम्ती–ढल्केबर प्रसारणलाइन आएपछि ‘भोल्टेजको समस्या समाधान’
माघ - २१ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।खिम्ती–ढल्केबर र हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन प्राधिकरणको केन्द्रीय प्रसारणलाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतार–चढाव कम भएको छ ।
ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारओटा प्रसारणलाइन एकीकृतरुपमा सन्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौंडा पनि जोडिएको छ । यस्तै, पूर्व जाने प्रसारणलाइनको हबसमेत ढल्केबरमा नै रहेको छ ।
एकै स्थानबाट बढी विद्युत् प्रवाह गराउँदा समस्या आएपछि प्राधिकरणले विभिन्न उपाय अवलम्बन गर्दै आएको थियो । वैकल्पिक प्रसारणलाइन निर्माण एवं सन्चालनमा आएपछि विद्युत् आप्रवाहमा समस्या समाधान भएको र मुलुकभर नै स्वच्छ ऊर्जा प्राप्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
अघिल्लो सातादेखि नै भोल्टेजमा देखिएको समस्या समाधान भएको र वीरगन्ज औद्योगिक करिडोरमा परेको समस्यासमेत समाधान भएको उनको भनाइ छ । विगत १७ वर्षदेखि अवरुद्ध हुँदै आएको खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन सन्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रसारणलाइन र अन्य प्रसारणलाइनबीचसमेत एकरुपता कायम भएको छ ।
भारतबाट थप २५ मेगावाट विद्युत्समेत थप भएको छ । आन्तरिकरुपमासमेत प्रसारणलाइनको क्षमता विस्तार भएको र विद्युत् प्रवाह नियन्त्रण यन्त्रसमेत विभिन्न सवस्टेसनमा जडान भएका कारण भोल्टेजमा देखिएको समस्या समाधान भएको प्राधिकरणको भनाइ छ ।
औद्योगिक क्षेत्रमा नै सबैभन्दा बढी भोल्टेजमा समस्या हुँदै आएको थियो । विद्युत् प्रवाह नियन्त्रण यन्त्र (स्टेपलाइजर) नहुँदा सबैभन्दा बढी वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायी सबैभन्दा बढी मारमा परेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य महासंघका अध्यक्ष ओमप्रकाश शर्माले ऊर्जामन्त्री, ऊर्जासचिव र प्राधिकरणका कार्यकारी प्रमुखलाई भोल्टेजको समस्या समाधान गरिदिन पटक–पटक आग्रह गर्दै आएका थिए । आफूहरुको मागअनुसार पछिल्लो दिनमा भोल्टेजमा देखिएको समस्या सुधार हुँदै गएको भएपनि अझै धेरै गर्न बाँकी रहेको उनको भनाइ छ ।
भोल्टेजमा हुने उतार–चढावका कारण वीरगन्ज औद्योगिक करिडोरका धेरैजसो उद्योगले स्वच्छ ऊर्जा पाउन सकेका थिएनन्, जसबाट औद्योगिक उत्पादनसमेत प्रभावकारी हुन नसकेको तथा सामान खेर फाल्नुपर्ने अवस्था आएको थियो ।
पूर्वाञ्चलमा कुनै समस्या आएपनि तत्काल निरुपण गर्न सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । ढल्केबर–खिम्ती प्रसारणलाइन काठमाडौंमा जोडिएपछि त्यसले काठमाडौं उपत्यकाकोमात्रै नभइ छुट्टाछुट्टै रहेको प्रसारणलाइनसमेत एकीकृतरुपमा सन्चालन हुन थालेको छ ।
खिम्तीको विद्युत् वर्षायाममा लामोसाँघु–काठमाडौं हुँदै तराई लैजानुपर्ने अवस्थाकोसमेत अन्त्य भएको छ । त्यसले प्रसारणलाइनमा नै हुने १० मेगावाट विद्युत् चुहावटसमेत नियन्त्रण हुने खिम्ती–ढल्केबर आयोजनाका प्रमुख श्यामकुमार यादव बताउँछन् ।
प्रमुख यादवले सो प्रसारणलाइनको डबल सर्किट पूर्णरुपमा सन्चालनमा आएपछि करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न थप सहज हुनेछ । हाल ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँमा ८० मेगावाट विद्युत् प्रवाह भएको छ । त्यसमा हिमाल हाइड्रोको ३३ मेगावाट विद्युत् पनि जोडिएको छ ।
जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्राधिकरणको नयाँ खिम्ती सवस्टेसन निर्माणमा ढिलाइ भइ भारतबाट आयातित विद्युत् हिमाल हाइड्रोको सवस्टेसनमै समायोजना गरेर काठमाडौं जोडिएको हो । मुलुकमा सन्चालनमा रहेका अधिकांश प्रसारणलाइन १३२ केभिएको रहिरहेको सन्दर्भमा खिम्ती–ढल्केबर प्रसारणलाइनको क्षमता २२० केभी रहेको छ ।
त्यसले नै भोल्टेजमा देखिएको उतार–चढावलाई हल गरेको र स्वच्छ एवं सन्तुलित ऊर्जा आपूर्ति भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ छ । उक्त प्रसारणलाइन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।
यही माघ २ गतेदेखि सन्चालनमा आएको प्रसारणलाइन निर्माणमा प्राधिकरणले सबैभन्दा बढी जटिलता व्यहोरेको थियो ।
रमेश लम्साल खिम्ती– ढल्केबर
रमेश लम्साल खिम्ती– ढल्केबर