कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि त्रिपालमा बास
माघ–२१ । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएपछि त्रिपालमा राख्ने व्यवस्था मिलाइएको छ ।
कारागारको क्षमता ९५ जना भए पनि २६० जना कैदीबन्दीलाई राखिएको छ । अहिले कारागारमा २४८ पुरुष, १२ जना महिला कैदीबन्दी र दुई नाबालक छन् ।
कारागारमा पुरुष कैदी ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता रहेको छ । 'क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर राख्ने व्यवस्था गरेका छौं,’ जेलर श्यामराज भट्टले भने । उनका अनुसार अन्य कैदीबन्दीलाई ग्यालरी, टहरामा राखिएको छ ।
क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी शौचालय र खानेपानीका धाराको व्यवस्था रहेकाले बढी कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।
कारागार भवन धेरै पुरानो भएको र मर्मतसम्भार नहुँदा भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ । २०२३ मा निर्माण भएको यस कारागारको पर्खालमा लगाइएका इँट्टासमेत खिइएर झर्न थालेका छन् ।
सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताए । शौचालय निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरिएको उनको भनाइ छ । रासस
कञ्चनपुर
कारागार
क्षमता