प्रवास

नेपालमा आउने अस्ट्रेलियन नागरिकलाई सतर्कता अपनाउन सरकारको आह्वान

नेपालमा आउने अस्ट्रेलियन नागरिकलाई सतर्कता अपनाउन सरकारको आह्वान
माघ–२१ । नेपाल आउन चाहने अस्ट्रेलियन नागरिकलाई अस्ट्रेलिया सरकारले उच्च सतर्कता अपनाउन एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ । नेपालमा रहेका अस्ट्रेलियालीहरुले आफ्नो व्यक्तिगत सुरक्षाका लागि विशेष ध्यान दिन र सम्भावित खतराबारे जानकारीका लागि स्थानीयतहमा चनाखो रहन अस्ट्रेलियाको केन्द्र सरकारको विदेश मामिला तथा व्यापार मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । नेपालमा स्थानीय तहको लागि चुनावको मिति घोषणा गर्नुभन्दा अगाडि सरकारद्वारा संविधान संशोधनको आफ्नो माग पुरा नगरे आन्दोलन गर्ने भनि मधेसी मोर्चाद्वारा चेतावनी दिएको केहि दिनपछि अस्ट्रेलियाली सरकारको यो पछिल्लो निर्देशन आएको हो । विरोध प्रदर्शन र सार्वजनिक स्थलहरुमा ठूलो संख्यामा मानिसहरु भेला भएका अवस्थामा हिंसा भड्किन सक्ने सम्भावना भएकोले ती स्थानहरु नजान अस्ट्रेलियन सरकारले आफ्ना नगरिकलाई आग्रह गरेको छ । सन् २०१५ को विनासकारी भूकम्प पछि केही पदमार्गहरु समेत प्रभावित भएको कारण सुरक्षालाई ध्यानमा राख्दै पद यात्रामा एक्लै नजान पनि सरकारले सचेत गराएको छ । नेपाल भ्रमण गर्नु अगाडि अस्ट्रेलिया सरकारद्वारा संचालित स्मार्ट ट्राभलर वेबसाइटमा आफ्नो यात्राबारे जानकारी दर्ता गराउन समेत सरकारले आब्हान गरेको छ । नेपालमा पछिल्लो पटक देखिएको राजनीतिक अस्थीरता र निर्वाचनको घोषणाले सम्भावित खतरा बढेको महसुस गर्दै अस्ट्रेलियाले यस्तो आब्हान सार्वजनिक गरेको हो ।  

अस्ट्रेलियन नागरिक सतर्कता

विशेष