स्वास्थ्य

पाटन अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल घेराउ

पाटन अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल घेराउ
माघ - २२ । डाक्टरको लापरवाहीले नवजात शिशुको ज्यान गएको आरोप लगाउँदै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसरमा घेराउ गरेका छन् । कास्की पोखराकी प्रमा थकालीको नवजात शिशुको शुक्रबार मध्यरातमा अस्पतालमै मृत्यु भएको थियो । आफन्तहरुका अनुसार प्रशासनकै लापर्वाहीका कारण शिशुको ज्यान गएको हो । शिशु जन्मेको ५ दिनपछि नवजात शिशुको ज्यान जानुमा अस्पतालकै लापर्वाही भएको जोड गर्दै सत्यतथ्य समयमा छानविन गरी दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शिशुकी हजुरआमा अनिता धितालअनुसार डाक्टरहरुले भर्खरै जन्मेको शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराएको र त्यसको मात्रा बढी भएर शिशुको ज्यान गएको हो । बच्चा जन्माउँदा भ्याकुमले तान्दा बच्चाको टाउकोमा बच्चाको टाउकोमा चोट पनि लागेको थियो । शिशुको आफन्तको अनुसार शुक्रबार जन्मेको शिशुको ज्यान लजानुमा नर्सहरुको लापरवाही हो । कास्कीस्थित पोखराकी प्रमा श्रेष्ठले गत माघ १७ गते जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । जुम्ल्याहामध्ये पहिला जन्मेको शिशुको ज्यान गएपछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच विवाद सुरु भएको हो । दोषीलाई कारबाही नभएसम्म मृतकको शव नबुझ्ने शिशुका आफन्तले बताएका छन् । पीडितहरुका अनुसार अस्पताल स्रोतले सुत्केरी भएदेखि हालसम्मको रिपोर्ट उपलब्ध गर्न असमर्थ भएको छ । मृतक शिशुको उपचारमा संलग्न डाक्टर सम्पर्कमै आउन चाहिरहेका छैनन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले शिशुको मृत्युको कारणबारे आफूलाई थाहा नभएको बताएका छन् । उनका अनुसार शिशुको मृत्यु कसरी भयो भन्ने विषयबारे अहिले अनुसन्धान गरिरहेका र यदी उपचारमा संलग्न डाक्टरहरुकै कारण शिुशको ज्यान गएको रहेछ भने सम्बन्धित डाक्टरलाई कारवाही हुनेछ । उनले शिशुका आफन्तहरुले अस्पताल प्रशासनसँग समन्वय गर्नुको साटो बाहिर बसेर हल्ला फिँजाएको आरोप लगाए ।

Patan Hospital

विशेष