देश

मुआब्जा विवाद: निर्माण भएको पक्की पुल सञ्चालनमा आउन सकेन

मुआब्जा विवाद: निर्माण भएको पक्की पुल सञ्चालनमा आउन सकेन
चन्दननाथ नगरपालिका-१ दानसाँघुस्थित जवा नदीमा पक्की पुलको निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको छैन् । पुल नजिकका जग्गाधनीले मुआब्जा नपाएको भन्दै बार हालेकाले सो पुल सञ्चालनमा आउन नसकेको हो । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले प्रभावित व्यक्तिको जग्गाको क्षति मूल्याङ्कन गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको संयोजकत्वमा जिल्ला मालपोत, नापी र प्राविधिक कार्यालय रहने गरी गठित समितिको मूल्याङ्कनका आधारमा घरभएकालाई पाँच लाख २३ हजार र जग्गा भएकालाई १८ लाख क्षतिपूर्ति दिन बाँकी रहेको बताए । 'यो समस्या समधानका लागि सम्बन्धित निकायले स्थानीय सडक निर्माणमा मुआब्जा दिने प्रावधान छैन भन्ने जवाफ दियो । जिविसबाट दिनलाई पनि स्रोत छैन,' स्थानीय विकास अधिकारी बेल्बासेले भने । केही समयपछि मन्त्रालयको टोली आउने देखिएकाले त्यत्तिबेला नै समस्या समाधान गरेर पुल सञ्चालनमा ल्याउने उनले बताए । ४० मिटर स्पान भएको पुल निर्माणको जिम्मा ओएसिस पृथ्वी जेभी काठमाडौँले लिएको थियो । २०६९ साल असार १५ गते निर्माण सम्झौता भई कार्य सम्पन्न भएर यही पुसमा जिविसलाई चिठी लेखेर पुल हस्तान्तरण गरिसकेको जेभीका प्रतिनिधि तारासिंह कठायतले बताए । जिल्ला प्राविधिक कार्यालय जुम्लाका सब–इन्जिनियर चुडामणि भट्टले भ्याटसहित रु चार करोड १९ लाखमा निर्माण सम्पन्न भएको पुलको पूर्ण भुक्तानी भइसकेको बताए । जग्गाधनीको अवरोधका कारण सञ्चालन प्रक्रियामा जटिलता आएको उनको भनाई छ । सुरुमा क्षतिपूर्ति दिनेसम्मको कुरा गरिए पनि अहिले आलटाल गर्न खोजेपछि बार लगाउन बाध्य भएको पीडितहरुले बताएका छन् ।

Bridge

विशेष