देश

८४ वर्षीया आमाकाे ढिक्की-जाँताे मोह

८४ वर्षीया आमाकाे ढिक्की-जाँताे मोह
माघ - २२ । जाजरकाेटकाे काकीगाउँ–३ पालेपाटाकी जैपुरा खत्री ८४ बसन्त पार गरिसकेकी बुढी आमा हुन् । उनका लोग्ने लक्षे खत्री मृत्यु भएको १७ वर्ष बिति सकेको छ । अस्ताउदो सुर्य जस्तै देखिने ती बुढी आमालाई अहिले पनि ढिक्की, जाँतोको मोह छुट्न सकेको छैन । दुई छोरा र ६ छोरीकी आमा ८४ बर्षिय जैपुरा खत्री आफैँ ढिक्की जाँतो गर्छिन । छोरा, छोरीलाई अझै पनि अरिपक्क जस्तो ठान्ने ती आमाले दाउरा पानी आफैँ गरेर छुट्टै खाना पकाएर खाना खाने गरेकी छन् । छोरा, छोरीलाई समान व्यवहारद्वारा स्नेहपूर्ण अभिभावकत्व प्रदान गर्न नपाए बुढी आमाको चित्तनै बुझ्दैन । एक्लै आफूले खाना पकाएर खाना खाइसकेपछि दुई छोरा र नाती, नातिनीहरुले खाना खाए कि, खाएका छैनन् ? भनेर जान्नलाई एक पटक छोराहरुको घरमा पुग्नु बुढी आमाको दैनिकी हो । नाती तथा नातिनीहरुका बच्चाबच्चीको धरालो गर्नु कुनै बाध्यता त थिएन तर, कर्तव्य ठानेर बच्चाबच्चीलाई खेलाउने र हेरचाह गर्ने गरिरहेकी छन् ति आमाले । आफू रहदासम्म सवै छोरा, छोरीलाई भेदभाव रहित समान व्यवहार गरेरै मर्ने उनको उत्कट चाहाना छ । 'सबै छोरा, छोरीलाई एकनासको व्यवहार गर्दै आएकी छु,' उनले भनिन्– 'बुढेस लाग्यो अब आफैँ पकाएर खाना सक्दिन भनेर कुनै छोरा वा छोरीको घरमा गएर बस्न थाले भने, अन्य छोराछोरीको मन दुख्न सक्छ भनेर म एक्लै बस्ने गरेकी छु । एक्लै बस्दा आफूले चाहेको समयमा रोजेको खानेकुरा खाना पाएकी छु ।' 'आ–आफ्नो घर व्यवहारमा लागेका छोराछोरीहरुको घरमा गएर आफू बस्दा उनीहरुको कामकाजमा बाधा पुग्ने आमाले तर्क गरिन् । छोराछोरीको उन्नती र प्रगति गरेको देख्नका लागि पनि म उनीहरुको घरमा गएर बाेझ बन्दिन्,' - आमाले भनिन् । सक्दासम्म आफैँ ढिक्की जाँतो गरेर खाने धारणा व्यक्त गरिन् । जन्मजातदेखि गर्दै आएको ढिक्की जाँतोसंगको आत्मिय सम्बन्धलाई एकाएक तोड्न पनि नसक्ने उनको भनाइ छ । खानपिनले छोराछोरीसंग बेग्लै बसे जस्तो देखिने ति आमाले कामकाजमा सबैलाई सिकाउने र निर्देशन गर्ने गर्दछिन् । खेतीबालीको सिजन आयो कि ति आमाले आफ्ना छोराछोरीलाई 'यो जग्गामा यो खेती लगाऊ, त्यो जग्गामा त्यो खेती जगाऊ' भन्न थाल्छिन् । आमाको आदेशलाई आर्शिवाद जस्तै सम्झेर छोराहरुले खेतीबाली गर्ने गरेका छन् । आमाका जेठा छोरा टेकबहादुर खत्री हुन् भने, कान्छा छोरा नरबहादुर खत्री हुन् । उनका ६ बहिनी छोरीहरुमा जेठी छोरीको मृत्यु भैसकेको छ भने, अन्य पाँच बहिनी छोरीहरु आ–आफ्नै घर व्यवहारमा लागेका छन् । १७ बर्ष पहिला मृत्यु भैसकेका लोग्ने लक्षे खत्रीभन्दा यि आमा दुई बर्षले जेठी पनि हुन् ।
दीपबहादुर घर्ती / जाजरकोट

जाजरकाेट ढिक्की-जाँताे

विशेष