समाज

दण्डविहीन शैक्षिक अधिकारका पक्षमा मानव अधिकार आयोग

दण्डविहीन शैक्षिक अधिकारका पक्षमा मानव अधिकार आयोग
माघ - २२ । दण्डविहीन बालबालिकाको शैक्षिक अधिकारमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगको एक टोली जाजरकोट पुगेको छ । शैक्षिक सुधारबाट बालअधिकारको ग्यारेण्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली जाजरकोट पुगेको हो ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जवाट जाजरकोट पुगेको टोलीले बालबालिकाको शैक्षिक अधिकारलाई दण्डविहीन बनाउन सनिवार जिल्ला सदरमुकाम खलंगामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 'विद्यालयमा बालबालिकामाथि हुने दण्ड' विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकाको दण्डविहीन शैक्षिक विकासका लागि शिक्षक तथा अभिभावक जिम्मेवार बन्नु पर्ने मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले बताइन् । दण्डित शिक्षाबाट बालबालिकाले हासिल गर्ने शैक्षिक तथा मानसिक ज्ञानमा दीर्घकालीन असर पर्ने अधिकृत पौडेलको तर्क थियो । बालबालिकाले दण्डको अनुभुती नगर्ने वातावरण श्रृजना गर्नुले बालअधिकारको ग्यारेण्टी हुनुको साथै बच्चाहरुको मानसिक तथा शारीरिक विकासमा सहयोग पुग्ने अधिकृत पौडेलले दाबी गरिन् । बालबालिकाहरुको समग्र बिकासमा सबै निक्कै सम्वेदनशिल बन्नु पर्नेमा लेखा अधिकृत बिजया उप्रेतीले जोड दिइन् । उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षक अच्युतप्रशाद शर्मा, रेखा शाह, अभिभावक मित्रगणेश श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका प्रतिनीधि, बाल अधिकारका क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका प्रतिनीधिहरु, कानुन व्यवसायी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
दीपबहादुर घर्ती / जाजरकोट

दण्डविहीन

विशेष