सडक विस्तार गर्दा भेटियो ढुङ्गाखानी
माघ–२३ । पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा ढुङ्गाखानी भेटिएको छ । जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आकर्षक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरिप्रसाद छन्त्यालले बताए । विगतमा समेत गाउँमा प्रयोग गरिएको भए पनि सडक विस्तारका क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीयवासी दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गा खानी भेटिएपछि स्थानीयवासीले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समितिसमेत बनाएका छन् ।
स्थानीयवासीले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासका लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक १० लाख रुपैयाँसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ ।
बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ । ढुङ्गाखानीलाई व्यावसायिक रुपमा सञ्चालन गरी गाउँमा रहेको भूमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयवासीको भनाइ छ ।
सडकका दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायत क्षेत्रबाट समेत माग आउन थालेको छ । रासस
ढुङ्गाखानी
पश्चिम म्याग्दी
सडक विस्तार