सेनाको मोबाइल घुम्ती शिविरमा २ हजारभन्दा बढीकाे स्वास्थ्य जाँच

माघ - २३ । नेपाली सेनाले कैलालीको मुनुवा गाविसमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण तथा ५० जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरेका थिए ।
शिविरमा नेपाली सेनाको ५० शय्याको मोबाइल अस्पतालमा संलग्न रहेको १०५ जनाको स्वास्थ्य टोलीमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो ।
विसं २०७२ मा आएको भूकम्पपछि चीन सरकारले नेपाली सेनालाई ५० शय्या भएको मोबाइल अस्पतालको सहयोग गरेको थियो । सोह्र प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराइने सो मोबाइल अस्पतालमा आइसियू, जेनेटर, ल्याबलगायतका सेवा उपलब्ध छन् ।
शिविरमा जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा सङ्कलन गरिएको करिब रु पाँच लाख बराबरको औषधिसमेत वितरण गरिएको थियो ।
घुम्ती शिविर
नेपाली सेना