देश

हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र

हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र
माघ - २४ । जुम्लाको सिंजा भेकमा पर्ने शनिगाउँ गाविसस्थित हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको छ। यो पक्की पुल निर्माणका लागि २०१३ अक्टोबर ३१ तारिखमा शान्तिराम जेभी कौशलटारसँग सम्झौता भएको थियो। दुई करोड २४ लाख ६९ हजार रुपैयाँ बजेटमा निर्माणका लागि सम्झौता भएको पुलको निर्माण कार्य अहिलेसम्म हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका सव–इञ्जिनियर चूडामणि भट्टले जानकारी दिए। “पुल निर्माणका लागि जेभीका प्रतिनिधि ब्रमजङ्ग बमले ४४ लाख पेस्की लिइसक्नुभएको छ, निर्माणका हिसाबले भने एकातिरको फाउन्डेसन तयार र केही कच्चा पदार्थ जम्मा गर्नेबाहेक अरु केही भएको छैन” – सव–इञ्जिनियर भट्टले भने। उनले थपे – “यो ठेक्काको सम्झौताको म्याद थपिएको छैन । निर्माण कार्य सञ्चालन नभएकाले जिविसले २०७१ पुस ६ गते कालीकोट जिल्ला प्रहरी कार्यालयसँग जेभीका प्रतिनिधिलाई पक्राउ गरी हाजिर गराउन चिठी काटेको थियो । तर पनि उनी सम्पर्कमा छैनन् ।” विसं २०७२ मा असार, मङ्सिर र चैत महिना गरेर तीनपटक ताकेता पत्र दिँदा पनि बम सम्पर्कमा नआएको जिविसले जनाएको छ । ठेक्का प्रक्रिया आफैँमा झन्जटिलो भएकाले अब नयाँ विकल्प खोज्ने र उक्त ठेकेदारलाई कालोसूचीमा राख्ने बताइएको छ ।

Jumla

विशेष