स्वास्थ्य

स्वास्थ्य बिमा गरेकालाई निःशुल्क उपचार

स्वास्थ्य बिमा गरेकालाई निःशुल्क उपचार
  माघ - २५ । सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् । सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताए। “बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु” डा न्यौपानेले भने। म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ। बिमा सेवामा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४२५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था छ।

Insurance

विशेष