स्वास्थ्य

उफ् ! कसरी टिक्ने ?

उफ् ! कसरी टिक्ने ?

माघ २६ । उपत्यकाका आधाभन्दा बढी सडक भत्काइएकाले राजधानी अहिले धुलाम्मे छ । सडक विस्तार र खानेपानी पाइप बिछ्याउन मुख्य मात्र होइन सहायक सडकसमेत भत्काइएका छन् । भत्काइएका सडक समयमै कालोपत्रे नहुँदा उपत्यकाको आकाश धुलाम्मे भएको हो । सडक विस्तारका लागि करिब २ किमि र खानेपानी पाइप बिछ्याउन करिब ६ सय किमि सडक भत्काइएको छ । उपत्यकाका सबै सडकको लम्बाइ १५ सय किलोमिटर छ ।

पाइप बिछ्याउन भत्काइएका सडकमा फागुनदेखि कालोपत्रे गर्ने मेलम्ची खानेपानी आयोजना निर्देशनालयले दाबी गरेको छ । तर, ठेकेदारको लापरबाही र स्थानीयको विरोधले कालोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन । ‘केही स्थानमा धूलो उडेको छ, तर सबै हामै्र कारण हो भन्नु गलत हो,’ निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पानी हालेर होस् वा अन्य माध्यम अपनाएर धूलो न्यूनीकरण गरेका छौं ।’

त्रिपुरेश्वर–नागढुंगा, चाबहिल–साँखु, पुरानो बानेश्वरका भित्री गल्ली, नयाँ बानेश्वरका सहायक सडक, कलंकी–कोटेश्वर सडक विस्तारका क्रममा छन् । त्रिपुरेश्वर–नागढुंगा सडक राजधानीको प्रमुख प्रवेशद्वार हो । डेढ वर्षदेखि सरकारले विस्तार कार्य तीव्र पारेको छ । तर, स्थानीयले घररजग्गाको मुआब्जा दाबी गर्दै अदालतमा मुद्दा दायर गरेपछि उक्त सडकको केही खण्डको विस्तार कार्य रोकिएको छ । ‘सरकारी मूल्यांकनअनुसार घरको मुआब्जा दिन सकिन्छ,’ सडक विभागका एक अधिकारीले भने, ‘तर जग्गाको मुआब्जा दिने प्रावधानै नरहेकाले कामले तीव्रता पाउन सकेको छैन ।’

सर्वोच्च अदालतको स्पष्ट निर्देशन नआउन्जेल घर भत्काउन गाह्रो भएको ती अधिकारीको भनाइ छ । चाबहिल–साँखु सडकमा पनि स्थानीयले ‘तत्कालका लागि केही नभत्काउनू’ भन्ने अदालतको आदेश बोकेर बसेकाले कालोपत्र गर्न कठिनाइ भएको उनले बताए । ठेकेदारसँग २७ महिनामा काम सिध्याउने सम्झौता भएको १७ महिना बितिसक्दा पनि घर भत्काउन नसकेको ती अधिकारीको बताए । चाबहिल–साँखु सडक खण्डमा करिब ३ सय घर भत्काउनुपर्ने विभागको अनुमान छ । भक्तपुर, ललितपुर र काठमाडौंमा अधिकांश सडकको विस्तार भइरहेकाले धुलाम्मे भएको विभागको दाबी छ ।

विभागका प्रवक्ता दयाकान्त झाले कलंकीदेखि नागढुंगा सडकमा बिजुली खम्बा सार्ने काम भइरहेकाले कालोपत्रे चाँडै गरिने बताए । ‘कलंकी–त्रिपुरेश्वर खण्डमा अदालतको आदेशविरुद्ध जान सकिँदैन,’ उनले भने, ‘मानहानि मुद्दा लाग्छ, त्यसकारण त्यो खण्डमा अदालतको अर्को आदेश नआउन्जेल केही पनि गर्न सकिँदैन ।’ चाबहिल–साँखु खण्डमा स्थानीयले पुर्‍याएको अवरोध हटाउनेबारे छलफल भइरहेको जानकारी दिँदै उनले त्यहाँ चाँडै समस्या समाधान हुने बताए । त्यस क्षेत्रमा पनि अदालतको आदेश दिएकाले विस्तार कार्य ढिलाइ हुने उनले बताए । ‘धूलो न्यूनीकरणको काम त गरेका छौं,’ उनले भने, ‘कालोपत्रे चाँडो गर्न सके सधैंका लागि समाधान हुन्थ्यो, अवरोध धेरै छन् ।’ काठमाडौं सडक डिभिजन २ नम्बरका प्रमुख धर्मेन्द्र झाले कालोपत्रे ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गरिने बताए । फागुनदेखि कालोपत्रे गर्ने काम तीव्र रूपमा अघि बढाउने उनले बताए । सडक डिभिजन २ नम्बर कार्यालयका प्रमुख देवकुमार तामाङले तीव्र रूपमा सडक निर्माण भइरहेकाले धूलो उडेको बताए । ‘गाडी जताततै पुग्ने भएकाले चक्कामा लागेर धूलो जान्छ,’ उनले भने । कान्तिपुर

Pollution In Kathmandu

विशेष