समाज

कुपोषणले पीडित बालिकाको उपचार हुन नसक्दा मृत्यु

कुपोषणले पीडित बालिकाको उपचार हुन नसक्दा मृत्यु
माघ - २६ । कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ । कुपोषणको उपचार नहुँदा डडेल्धुरा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको होे । पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो । मैले आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भएको मुनाका आफन्त पर्ने धामीले जानकारी गराए। चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहुँदा जान नसकेको उनको भनाइ रहेको छ । ४० वर्षीया मुनाका अरु दुई छोरी र एक छोरा भने स्वस्थ छन् । कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो । पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यकोे क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।

Dadheldhura kuposan

विशेष