
माघ–२६ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचौं अधिवेशनको बुधबार आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ ।
श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अझै पनि समावेशी बन्न नसकेको बताए । कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै राज्यको सञ्चार नीति, सञ्चारमाध्यम सबै समावेशी बन्नुपर्ने बताए ।
फोनिजका केन्द्रीय महासचिव गजुरधन राईले समावेशीताबाट मात्रै राष्ट्रिय सद्भाव एवम् एकता कायम गर्न सकिने बताउँदै पत्रकार महासङ्घको आगामी नेतृत्व सबैलाई समेटेर लैजानसक्ने हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रत्येक सञ्चारकर्मीले पत्रकारिताको धर्मलाई आत्मसात गरी कलम चलाउनुपर्नेमा जोड दिए । फोनिज कास्कीका अध्यक्ष हुम गुरुङ पेसागत हकहितका साथै आदिवासी जनजाति पत्रकारको अर्थपूर्ण सहभागिताका लागि फोनिज क्रियाशील रहेको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषाल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीको आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी रमेश पौडेल र दिपेन्द्र श्रेष्ठ, मगर पत्रकार सङ्घका अध्यक्ष रुद्रबहादुर थापा, मीना गुरुङ, शान्ति गुरुङलगायतले पत्रकार महासङ्घको आसन्न अधिवेशनले पत्रकारका हकहितलाई स्थापित गराउँदै सबैलाई समेटेर लैजान सक्ने किसिमको नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । रासस
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)