समाज

काभ्रेपलाञ्चोकका चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

काभ्रेपलाञ्चोकका चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने
माघ–२६ । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । यो पहिलो चरणमा आएको तथ्याङ्क भएको र अरु पनि क्रमशः आउने उनले बताए । विसं २०७२ मा गएको भूकम्पका कारण घर क्षति भएको र पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको सूचीमा नाम नपरेको भन्दै २१ हजार ९१९ जनाले गुनासो फारम भरेका थिए । तीमध्ये पहिलो चरणमा आठ हजार ३२८ जनाको गुनासो सम्बोधन भएको छ । सम्बोधन भएको गुनासोमध्ये जिल्लाको बनेपा, पनौती नगरपालिका र अन्य विभिन्न ३४ वटा गाविसको भएको जानकारी दिँदै अधिकृत ढकालले पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणको तयारी भइरहेको बताए । प्राधिकरणले आठ हजार ३२८ मध्ये दुई हजार १५८ जानको तथ्याङ्क नभेटिएको भन्दै पुनःसर्वेक्षण गर्नुपर्ने, एक हजार ६१४ जनाको बहुस्वामित्वमा रहेको र पुनरावलोकनबाट लाभग्राहीको सूचीमा नाम समावेश गरिएको ४२३ जनाको नाम बेमेल तथा अपूरो सूचना भएकाले स्थलगत निरीक्षण गर्नुपर्ने भन्दै जिल्ला विकास समितिलाई पत्राचार गरेको छ । रासस

काभ्रेपलाञ्चोक पुनःनिर्माण अनुदान

विशेष