देश

लुम्बिनी पुग्ने नमुना सडक निर्माण कार्यले गति लियो

लुम्बिनी पुग्ने नमुना सडक निर्माण कार्यले गति लियो
माघ - २६ । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ । पूर्व-पश्चिम राजमार्ग हुँदै विमानस्थल तथा लुम्बिनी पुग्न सो सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि बढाइएको छ । सडकको दुवैतर्फ हरियालीसहितको उद्यान निर्माण गर्ने योजना छ । उक्त सडकलाई पर्यटकीय सडकका रुपमा विकास गर्ने योजना छ । लुम्बिनी घुम्न आउने पर्यटक निर्माण भएपछि यही सडकको उपयोग गर्नेछन् । बेलवास-बेथरीसम्मको चार लेनको सडक निर्माण कार्यले तीव्रता पाएको छ । सो सडकअन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहरको दुवैतर्फ पक्की पर्खाल निर्माण कार्य सकिएको छ भने अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण कार्य चलिरहेको छ । पहिलो चरणमा सो नहरको दुवैतर्फको सडक कालोपत्र गर्ने योजना छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार उक्त सडक मुलुककै नमुनाको रुपमा रहेको छ । बुटवलको बेलवास झोलुङ्गे पुल चोकदेखि भैरहवा-लुम्बिनी सडकको बेथरीसम्म करिब २१ किलोमिटर लामो सो सडक निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने उनले बताए । उक्त सडकखण्डअन्तर्गत पर्ने नहरलाई व्यवस्थित गरिने र नहरको दुवैतर्फ सात-सात मिटर फराकिलो सडक तथा पौने दुई मिटरको साइकल लेन समेत निर्माण गरिने छ । निर्माणाधीन बुद्धनगरस्थित पक्की पुलले उक्त सडकलाई बुटवलसँग जोड्ने छ । उक्त सडक निर्माणमा करिब रु दुई अर्ब लाग्ने अनुमान गरिएको छ । बेलवास-बेथरीसँगै यसैवर्षदेखि भैरहवा-लुम्बिनी ६ लेन तथा बुटवल(पाल्पा ४ लेन सडक निर्माणको तयारी थालिएको छ । विमानस्थल सञ्चालन अगाडी बुटवल-भैरहवा ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट तथा लुम्बिनी परिक्रमा पथको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

विशेष