समाज

सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग, ११ ओटा गाडी आफन्तद्वारा प्रयोग

सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग, ११ ओटा गाडी आफन्तद्वारा प्रयोग

माघ २७ । एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन् ।

मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई थाँती राखेर भवन उद्घाटनका नाममा निस्कँदा उनले अधिकाँश ठाउँमा हेलिकोप्टरको प्रयोग गरेका छन् । भ्रमणमा जाँदा उनले आफ्ना छोरा भतिजलाई पनि सँगै लैजाने गरेको र महंगो होटलमा बस्ने गरेको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ ।

पुस नराम्रो महिना भन्दै माघ लागेलगत्तै भ्रमणमा निस्केका सशस्त्र प्रहरी महानिरीक्षक राईले अहिलेसम्म पाल्पा, बुटवल, भोजपुर, मुस्ताङ, संखुवासभा, खोटाङ, रसुवा र गोरखा गुल्ममा पहिला नै निर्मित भवनको उद्घाटन गरेका हुन् । यस्तै, माघभित्रै उनी नेपालगञ्ज, जनकपुर र वीरगञ्जमा रहेका सीमा सुरक्षा कार्यालयको भवन उद्घाटन कार्यक्रममा सहभागी भए । स्रोतका अनुसार, जनकपुर र नेपालगञ्जबाहेक सबै ठाउँमा उनले हेलिकोप्टर प्रयोग गरेका थिए ।उद्घाटन गर्दा भवनको शिलालेखमा आफ्नो नाम लेख्न पाइने भएकाले दीर्घकालीन महत्वका कामलाई थाँती राखेर उनी त्यहाँ गएका हुन् ।

सशस्त्र प्रहरी प्रमुख राईले पछिल्लो पटक भवन उद्घाटन गरेको खोटाङ गुल्मको हो । सोमबार खोटाङमा हेलिकोप्टर मार्फत गएका सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यहाँ गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई सम्मानपत्र प्रदान गरेका थिए । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो ।

करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । रमाइलो कुरा के छ भने, २०६६ सालमा स्थापना भएको गुल्मको भवन सोमबार उनले औपचारिक उद्घाटन गरेका हुन् । पछिल्ला दिनमा भवन उद्घाटनमा अति नै व्यस्त आईजीपी राई मंगलबार साँझ काठमाडौं फिरेका छन् ।

आईजीपी राईले सशस्त्रको आफ्नो नेतृत्वकालमा कुनै उल्लेखनीय र सम्झनलायक काम गर्न सेकनन् । उनीमाथि महत्वपूर्ण फाइलमा हस्ताक्षर नगरेको र निवासबाटै सचिवालय चलाएको आरोप पनि लागेको छ । उनको कार्यकालमा सशस्त्र कर्मचारीहरुले कम्व्याट ड्रेस पनि पाउन सकेनन् । अहिले सशस्त्र प्रहरी कर्मचारीहरु पुरानो कम्व्याट ड्रेसमा डिण्टी गर्न बाध्य छन् ।

सशस्त्र प्रहरी बललाई आफ्नो कार्यकालमा केही नवीन कुरा नदिए पनि आईजीपी राईले आफ्नो गृहजिल्ला भोजपुरको आफू पढेको विद्यालयलाई ३५ लाख रुपैयाँ दिएका थिए । बाबु आमाको नाममा विद्यालयको नाम राख्न ३५ लाख रुपैयाँ खर्चेका आईजीपी राईले सो रकमको स्रोतबारे कुनै जानकारी दिएका छैनन् ।

सशस्त्र प्रहरी प्रमुख भएपछि उनी १९ पटक विदेश गइसकेका छन् । १४ महिने आईजीपीको कार्यकालमा उनी ६ पटक त अमेरिका नै पुगे । उनीमाथि कल्याणकारी कोषको रकम दुरुपयोग गरेको आरोप पनि लाग्दै आएको छ । उनले आफू र आफ्ना नातेदारका नाममा सशस्त्र प्रहरीको ११ ओटा गाडी प्रयोग गर्दै आएको स्रोतको दाबी छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत फम्र्ड पुलिस युनिटमा खटिएको सशस्त्रको सुडानको शान्ति मिसनको मेडल परेडमा पनि उनी गएका थिए । सशस्त्रको शान्ति मिसनमा मेडल परेडमा जाने उनी नै पहिलो आईजीपी हुन् । यसअघि डीआईजी वा एआईजीलाई मेडल परेडमा पठाइन्थ्यो । सबै एआईजी गइसकेको अवस्थामा डीआईजीलाई पठाइने गरिन्थ्यो । आकर्षक भत्ताको लोभमा उनी आफै मेडल परेडमा गएका हुन् । स्रोतका अनुसार, आईजीपी राई सुडान जाँदा कल्याणकोषको १६ लाख रुपैयाँ खर्च भएको छ । सुडान जाँदा उनले परिवारलाई पनि लिएर गएका थिए ।

सशस्त्र प्रहरी बलका एक जना पूर्व आईजीपीका अनुसार, मेडल परेडमा जाँदा कति रकम खर्च गर्ने भन्ने कुरा आईजीपीमै भर पर्छ । ‘तर, हालका आईजीपी राईले धेरै नै रकम खर्च गरेको भन्ने मैले सुनेको छु,’ ती आईजीपीले भने ।

राजधानी

Durjakumar Rai

विशेष