समाज

फेसबुकले १५ वर्षपछि परिवारको मिलन गराइदियो

फेसबुकले १५ वर्षपछि परिवारको मिलन गराइदियो

माघ २७ । खुङ ९ सुन्दरमेलाका चेतमान थापा १५ वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । छोरा हराएको भन्दै बाआमाले माया मारिसकेका थिए । मंगलबार अकस्मात फेसबुकमार्फत छोरा सम्पर्कमा आएपछि थापा परिवारमा खुसीको सीमै छैन । परिवारका सबै सदस्य घरमा भेला भएर खुसियाली साटासाट गरे ।

चेतमानका भाइ एलबी थापासँग फेसबुकमार्फत सम्पर्क भएको हो । त्यसपछि दुई भाइले फोनमा कुरा गरेका थिए । ‘लामो समयदेखि बेपत्ता रहेका दाइसँग कुरा भयो । नेपाली भाषा र लवज नै भुलिसकेछन्,’ एलबीले भने, ‘बुधबार बिहान घरमा आमासँग पनि कुरा गराएँ ।’ १५ वर्षपछि छोरा भेटिएकोमा निकै खुसी लागेको आमा यमाकुमारीले बताइन् । ‘१० कक्षामा पढदापढदै छिमेकीसँग कामका लागि भारत गएको थियो,’ उनले भनिन्, ‘गाडी चलाउने काम गर्छ भन्ने मात्र सुनेकी थिएँ । सम्पर्क नहुँदा जिउँदै होला कि भन्ने आशा मारेका थियौं ।’

माया मारेको छोरासँग कुरा हुँदा उनले हर्षका आँसु झारिन् । भारत गएको दुई वर्षपछि उनी हराएको भन्दै छिमेकीले कोठाका सम्पूर्ण सरसामान घरमा ल्याइदिएपछि परिवारले छोराको माया मारिसकेको थियो । ‘पहिले चिठी पठाउँछ कि भनेर दैनिक हुलाक जान्थ्यौं,’ बुबा चित्रबहादुरले भने, ‘तर वर्षांै बित्दासमेत सोधखबर नभएपछि माया मारेका थियौं ।’

हुलाकको जमाना गएपछि मोबाइल आउँदा कतै फोन गरी पो हाल्छ कि भन्ने आशा परिवारलाई लाग्थ्यो । थापा भन्छन, ‘अहिले फेसबुकमा पो भेटिएछ दसैंमा आउँछु भन्दै थियो । चाँडै आउन भनेका छौं ।’ उनले छोरालाई कतिबेला देखु भन्ने लागेर माइलो छोरालाई लिन पठाउने निधो गरेको बताए । सुरुमा भारतको नागालेन्डमा काम गरेका चेतमान अहिले बैंग्लोरमा छन् ।

कान्तिपुर

Facebook

विशेष