समाज

योगासनमा पत्रकारको ठसठसी, योगी भन्छन्,‘जहाँ योग त्यहाँ निरोग’

योगासनमा पत्रकारको ठसठसी, योगी भन्छन्,‘जहाँ योग त्यहाँ निरोग’

माघ २७ । बिहानैदेखि भेटघाट र सूचना प्रवाहमा व्यस्त रहने पत्रकार केही दिन यता सबेरै योगासनमा झुम्न थालेका छन् । योगका विभिन्न आसन गर्दा उनीहरु ठसठसी कन्ने गर्दछन् । गुरु व्यंग्य गर्छन, ‘तपाईले भनेको सबले मान्यो, तर तपाईले भनेको तपाईकै शरीर मान्न छाड्यो । तपाई कति सफल ?’ हलमा हाँसो गुञ्जन्छ ।

संचारकर्मीलाई केन्द्रीत गरी काठमाडौंको बानेश्वरमा आयोजना गरिएको चार दिने योग शिविरमा शारीरिक अभ्यासका साथै चिन्तन दर्शनका बारेमा समेत चर्चा हुने गर्दछ । राष्ट्रियगान देखि जीबन शर्माका क्रान्तिकारी गीतसम्म गाइन्छ । विभिन्न आसनका योग गर्दा हलमा पूरै ठसठसी आवाज सुनिन्छ । गुरु ललित शंकर योगी त्यसै मेसोमा शब्द बाँण प्रहार गर्छन, ‘पत्रकार बन्धुहरु दुनियाँलाई देख्नुभयो, तर आफ्नै शरीरलाई चिन्नुभएन । अब योग गरौं । आफूलाई चिनौं, दुनियाँलाई चिनाऔँ ।’

विभिन्न संचारमाध्यममा कार्यरत २० जना पत्रकारले योग अभ्यास गरिरहेका छन् । पत्रकारलाई खुला आह्वान गरी योगका लागि निम्तो गरिएको थियो । योग गुरु ललित शंकर योगी भन्नुहुन्छ, ‘संचार जगतले योगका बारेमा राम्रोसँग बुझेमा दुनियाँका लागि योगका बारेमा बुझ्न सहज हुनेछ । चौथो दिन योगका विविध पक्ष र आसन सिकाइने छ । कोही इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुन्छ ।’

नयाँ बानेश्वरस्थित संसद भवन पानी ट्याङ्की नजिकै रहेको छक्कबक्कु मन्दिरको हलमा विहान पौन सात बजे योग शिविर भइरहेको छ । योगमा सहभागी संचारकर्मीले योगका कारण आफूहरुको स्फूर्ती बढेको बताउँछन् । योगमा सहभागी देबकी विष्ट भन्छिन्, ‘नियमित अभ्यास गर्ने सोंच बनाएकी छु । चार दिनसम्म सिकेको ज्ञान जीबन उपयोगी रहेको पाएकी छु ।’

Yog Sibir

विशेष