खेल

दृष्टिविहीन विश्वकप : पाकिस्तानले तोड्यो आफ्नै कीर्तिमान

दृष्टिविहीन विश्वकप : पाकिस्तानले तोड्यो आफ्नै कीर्तिमान
माघ–२७ । दृष्टिविहीन ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार आठ जित दर्ता गरे सँगै नयाँ रेकर्ड कायम गरेको छ । पाकिस्तानले भारतमा जारी दृष्टिविहीन विश्वकपमा वेष्ट इन्डिजलाई १८२ रनले पराजित गर्दै उक्त कीर्तिमान बनाएको हो । पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको खेलमा ३७३ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान तोडेको हो । यसअघि पाकिस्तानले २०१२ को दृष्टिविहीन विश्वकपमा वेष्ट इन्डिजविरुद्ध कै खेलमा ३६४ रन बनाएर कीर्तिमान बनाएको थियो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले पहिलो विकेटमा १९८ रन जोडेको थियो । खेलमा पहिलो विकेटको लागि मोहमद जमीलले १०० रन र रियासत खानले ९४ रनको साझेदारी गरेका थिए । जमीलले आफ्नो शतक ३६ बलमा २० चौकाको मद्दतमा पूरा गरेका थिए भने रियासतले ३२ बलमा ९ चौका र २ छक्काको मद्दतमा ९४ रन बनाएका थिए । त्यस्तै छैठौं र सातौं विकेटका लागि आएका मोहमद जफरले ४६ र मोसिन खानले ३२ रन बनाउँदै पाकिस्तानको स्कोर कीर्तिमानका साथ ३७३ मा पुर्याए । जवाफि ब्याटिङमा उत्रेको वेष्ट इन्डिजले भने ९ विकेटको क्षतिमा १९१ रनमात्र जोड्न सफल भयो । वेष्ट इन्डिजको लागि डेन्नल डेबोयाले सर्वाधिक ५९ रन जोडेका थिए ।

दृष्टिविहीन ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट पाकिस्तान

विशेष