फुड

जङकफूड अन्त्यका लागि जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना

जङकफूड अन्त्यका लागि जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना
माघ  - २७। जिल्ला सदरमुकाम देखि गाउँ–घरसम्म प्रचलित मानव उपभोगमा रहेका प्याकेट तथा जङकफूडहरुको अन्त्यका लागि जाजरकोटमा पनि यस वर्षदेखि वहुक्षेत्रीय पोषण योजना लागू भएको छ । सुनौला हजार दिन भित्रका आमा र बच्चाहरुको स्वास्थ्य सुधारका लागि जङकफूडको अन्त्य गरी खाद्य उपभोगमा विविधीकरण गर्न जिल्लामा यस वर्षदेखि वहुक्षेत्रीय पोषण योजना लागू भएको हो । [caption id="attachment_55301" align="alignleft" width="384"] तस्बिरः दीपबहादुर घर्ती[/caption] संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०२५ को दशकलाई पोषण दशकका रुपमा घोषणा गरेको अबस्थामा दीगो विकास लक्ष्य हासिल गर्ने उदेश्यले जाजरकोटसहित देशका २८ वटा जिल्लामा बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा भैरहेको बाल स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत योगेन्द्र न्यौपानेले जानकारी दिए । उद्योगले उत्पादन गरेका प्याकेटवाला चाउचाउ, बिस्कुट जस्ता जङकफूडहरुको उपभोगलाई अत्य गरी स्थानिय स्तरकै खाद्यान्नहरु चिनो, कागुनो, सिस्नो, ओखर, कोदो, फापर, हरिया साँगपात र पहिला फलफूलहरूको उचित प्रवद्र्धन र उपयोगमा बहुक्षेत्रीय पोषण योजनाले बिशेष जोड दिने अधिकृत न्यौपानेले बताए । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०११ को तथ्याङ्क अनुसार राष्ट्रिय स्तरमा ४१ प्रतिशत पुड्का, २९ प्रतिशत कम तौल भएका र ११ प्रतिशत ख्याउटे बालबालिका रहेका छन् भने, सन् २०३० सम्म उम्मेर समूह अनुसार पुड्का, कमतौल र ख्याटे बालबालीकाहरु १ प्रतिशतमा झार्ने दीगो विकास लक्ष्य रहेको छ । मध्यपश्चिम र सुदुरपश्चिमका १९ वटा जिल्लामा डाईमले सन् २०१३ मा गरेको सर्वेक्षण अनुसार जाजरकोट जिल्लामा ७६ प्रतिशत पुड्का र १४ प्रतिशत ख्याउटे बालबालिका रहेको तथ्याङ्क सार्बजनिक भएको छ । डाईमको सर्वेक्षणबाट देखिएको जाजरकोट जिल्लाको डरलाग्दो यो तथ्याङ्कलाई बाल स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको छ । यता जाजरकोट जिल्लाका पाँच वर्ष मुनी उम्मेर समूह अनुसार कमतौल भएका बालबालिकाहरुमा आर्थिक बर्ष २०७०/०७१ मा १५ प्रतिशत, २०७१/०७२ मा १२ प्रतिशत र २०७२/०७३ मा ९ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोटले तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क आउनलाई अझै केही समय लाग्ने जनाईएको छ । २०१७ देखि २०२२ सम्मको लागि सञ्चालित बहुक्षेत्रीय पोषण योजनाले पोषण लक्षित कार्यक्रम र पोषण संवेदनशील कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । पोषण लक्षित कार्यक्रम अन्तरगत बच्चालाई नियमित स्तनपान, पुरक खाना, जुकाको औषधी, आइरन चक्की वितरण, भिटामिन ए चक्की वितरण, कुपोषण व्यवस्थापन, क्यालसियम वितरण, आकस्मिक अवस्थाका लागि पोषण, किशोरी तथा गर्भपूर्वको अवस्था र मातृस्वास्थ्य जस्ता कृयाकलापहरु सञ्चालन गरिने जनाईएको छ भने, पोषण संवेदनशील कार्यक्रम अन्तरगत कृषि र खाद्य सुरक्षा, सामाजिक सुरक्षा, स्वच्छ पिउने पानी र सरसफाई, महिलाको कार्यबोझमा कमी, घरवारी बगैचा, सेवा र स्याहारका लागि प्रर्याप्त स्रोत व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा पहुँच, स्वच्छ तथा सफा वातावरण, प्रारम्भिक बाल बिकास कार्यक्रम, मातृ मानसिक स्वास्थ्य, महिला सशक्तिकरण (अनौपचारिक शिक्षा, साक्षरता अभियान, आयमुलक कार्यक्रम), बाल संरक्षण, बालमैत्री विद्यालय-क्लब, जनचेतना तथा शिक्षा, ढिलो गर्भ, पोषण तथा स्वास्थ्य शिक्षा, पोषण अन्तरक्रिया, विद्यालयमा दिवा भोजन जस्ता कृयाकलापहरु सञ्चालन गर्ने बताईएको छ । नेपालमा १८ प्रतिशत सन्तानोत्पादन गर्ने उम्मेरका महिलाहरु दुब्ला वा न्यून भरण पोषण भएका छन् भने, यसै उम्मेरका १३ प्रतिशत महिलाहरु अधिक भरण पोषण भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका पोषण फोकल पर्सन सुशिल शाहीले भने्– 'राष्ट्रिय स्तरमा देखा परेको समस्यालाई न्युनीकरण गर्न बहुक्षेत्रीय पोषण योजनाले निकै ठुलो सहयोग गर्ने छ ।'
दीपबहादुर घर्ती / जाजरकोट

पोषण योजना

विशेष