खेल

पदमको दोहोरो शतकले न्यूजिल्याण्डविरुद्ध विजयी भएपनि नेपालकाे यात्रा समाप्त

पदमको दोहोरो शतकले न्यूजिल्याण्डविरुद्ध विजयी भएपनि नेपालकाे यात्रा समाप्त
माघ–२७ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालले लिगको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । नेपालले न्यूजिल्याण्डलाई १४१ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा बिना विकेटको क्षतिमा ३१५ रन बनायो । नेपालको लागि पदम बहादुर बडैलाले ९० बलमा ३६ चौकाको मद्दतमा दोहोरो शतक प्रहार गर्दै २११ रन जोडे । त्यस्तै सोभाराम डाँगीले ३९ बलमा अर्धशतकका साथ ५३ रन बनाए । त्यस्तै ३१६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले भने १९.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन मात्र जोड्न सक्यो । न्यूजिल्याण्डको लागि विल्सनले सर्वाधिक ७२ रन जोडे । त्यस्तै क्यासकिलले २० र डुनले १२ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालले लिगको अन्तिम खेलमा निकै फराकिलो जित निकाले पनि लिगमा मात्र  दुई जित दर्ता गर्न सफल भएको छ । यसअघि नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । राउण्ड रबिन लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ तर नेपाल सात खेलमा पराजित भएर आठौं स्थानमा रहेसँगै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न असक्षम भएकाे छ । सेमिफाइनलकाे पहिलाे खेलमा शुक्रबार भारत र श्रीलंका मैदानमा उत्रिनेछन् । त्यस्तै शनिबार हुने दाेस्राे सेमिफाइनमा पाकिस्तान र इंल्याण्डबीच खेल हुनेछ ।

दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट नेपाल न्यूजिल्याण्ड

विशेष