भूमाफियाबाट आजित किसानको पीडाः ‘आफ्नो खेत कतिबेला अर्काको भयो थाहा नै भएन हजुर’
माघ २८ । भक्तपुरको मध्यपुर –थिमी नगरपालिका वडा नम्बर १५ स्थित सागबारी क्षेत्रको धेरै कित्ता जमिनमा विवाद सिर्जना गरिएको छ । पीडित जग्गाधनी र किसानहरुका अनुसार भूमाफिया र नापीका कर्मचारीको मिलेमतोमा जमिन र नक्साको अवस्था फरक पारिएको छ । धेरै किसानको हातमा लालपुर्जा त छ तर फिल्डमा जमिन खोज्दा भेटिन्न भने कतिपयले वर्षौैंदेखि जमिनमा भोगचलन गरिरहेका छन् तर उनीहरुको नक्सामा जमिन देखिँदैन ।
साविक (पहिलेको) दिब्यश्वरी २ ख मा रहेका धेरै जमिनहरुको वास्तविक अवस्था र नक्सामा जानीबुझी फेरबदल गरिएको छ । भूमाफियाको चलखेलको सिकार भएका सागबारी क्षेत्रका किसान ज्ञानसुन्दर प्याठ भन्छन्, ‘दिव्यश्वरी २ ख मा मेरो तीन टुक्रा जमिन छ । जसमा हामीले पुस्तौदेखि खेतीपाति गर्दै आएका छौं । यो जमिन अहिलेको मध्यपुर थिमी नपा –१५ सिट नम्बर १२२९–०१ नक्सामा पर्छ । तर हाम्रो यो जमिन खोज्दै नापी कार्यालय जाँदा नक्सामा भेटिन्न । भेटिए पनि क्षेत्रफलमा फरक परेको देखिन्छ ।’
[caption id="attachment_55421" align="alignleft" width="300"] पीडित कृषक ज्ञान सुन्दर प्याठ[/caption]ज्ञान सुन्दरका अनुशार उनको बुवा ज्ञानबिसी प्याठको नाममा रहेको कित्ता नम्बर ४६८ को जमिन अहिले २० प्रतिशत मात्रै बाँकी छ । नापी कार्यालयमा गएर हेर्दा कित्ता नम्बर ४६८ को धेरै जमिन सँधियार मायादेवी मुनीकारको कित्तामा मिसाइएको छ ।
ज्ञान भन्छन्, ‘नापी कार्यालयका कर्मचारीले फिल्डमा नआइ कार्यालयमै बसेर नक्सा कोरे । अनि एउटा नयाँ कित्ता ४५१ बनाए । अहिले मेरो बुवाको नामको कित्ता नम्बर ४६८ को जमिन मुनिकारको ४५१ मा मिसाइदिएका छन् ।’ सँधियार मायादेवी मुनिकारको ४५१ नम्बरको कित्ता साविक कित्ता नम्बर ४६६ र २०५४ बाट बनेको हो । नयाँ कित्ता बनाउने बेलामै नापीका कर्मचारीहरुले एउटाको जमिन खोसेर अर्काको पोल्टामा हालिदिए ।
[caption id="attachment_55420" align="alignright" width="465"] नक्सा र भोगचलन फरक भएको प्रमाण[/caption]जमिनको यहि गञ्जागोल मिलाउन सात वर्षदेखि ज्ञानसुन्दर नापी, मालपोतको चक्कर लगाइरहेका छन् । तर उनको यस्तो गञ्जागोल मिलेको छैन । उनी भन्छन्, ‘एउटाको जमिन अर्काको नाममा कसैले पनि सित्तैमा राखिदिँदैन । यसमा आर्थिक लेनदेन भएको हुनुपर्छ । तर हामी साना किसानको पीडा कसले बुझेर समस्या समाधान गरिदिने ?’
भूमाफीयाबाट आजित ज्ञानसुन्दरले भने, ‘आफ्नो जमिन कतिबेला खोसियो थाहै भएन हजुर ।’ सो क्षेत्रको अरु दुई कित्ता नम्बर ११५८ (छ आना) र ११५९ (१० आना एक पैसा) कै कथा पनि अनौठो छ । यी दुई जमिन साविक नक्सामा देखिन्छन् । तर फिल्डमा गएर हेर्दा यी दुवै जमिन छैनन् । नक्सामा देखिने तर फिल्डमा जमिन नदेखिएपछि गयो चाहिँ कहाँ त ? जवाफ नापीसँग पनि छैन ।
कित्ता नम्बर ११५८ र ५९ पहिलेको कित्ता नम्बर ११३७ बाट जन्मेका हुन् । पुरानो कित्ता नम्बर ११३७ को क्षेत्रफल १ रोपनी दुई आना अर्थात १८ आना थियो । तर जब यो कित्ताबाट दुई नयाँ कित्ता बन्यो यो बेला २ आना जमिन गायब पारियो । यसबाट पनि भूमाफीया र नापीका कर्मचारीको मिलेमतोमा जमिन तलमाथि पारिएको छ ।
खोलाको जमिन व्यक्तिको नाममा भक्तपुर बालकोटको हनुमन्ते खोलाको जमिन भूमाफिया र नापीका कर्मचारीका मिलेमतोमा बेचेर खाएको अन्य तथ्य पनि फेला परेका छन् । दिव्यश्वरी २ (ख) मा पर्ने हनुमन्ते खोलाले चर्चेको जग्गा २०३७ सालमै नयाँ नक्सा बनाएर एकपछि अर्को व्यक्तिलाई बिक्री गरिएको प्रमाणिक कागजात भेटिएको छ ।
[caption id="attachment_55418" align="alignleft" width="450"] तस्बिर नम्बर १[/caption]नक्साको तल्लो भागमा खोला देखिन्छ । (तस्बिरमा हेर्नुहोस् १) यो खोलालाई नापीले कित्ता नम्बर ४४, ४३ आदि नाम दिएको रहेछ । कित्ता नम्बर भन्नाले जमिनको टुक्रा चिन्न सजिलो होस भनेर राखिएको नम्बर हो । यो नक्सामा खोला देखिएको भागलाई २०३७ सालमा नापीका कर्मचारीले नयाँ कित्ता काट गरेर धेरैवटा टुक्रा बनाए ।
त्यस्तो टुक्रा किन बनाइयो भन्ने जवाफ अहिले नापीका कर्मचारीहरुसँग जवाफ छैन । तर पुराना अभिलेखमा ३१ साल वैशाख ३ गतेको निर्णयबमोजिम यसो गरिएको भन्ने उल्लेख छ । ३१ साल वैशाख ३ गते कुन निकायले त्यस्तो निर्णय गरेको थियो र खोलालाई नम्बरीमा परिणत गरियो स्पष्ट छैन ।
३१ सालको सरकारी जमिनलाई निजी बनाउने भूमाफियाको चलखेलपछि त्यो जमिन २०३७ सालमा बिमली उपाध्यायको नाममा गएको देखिन्छ । जसमा कित्ता नम्बर ११३६, ११३७, ११३८, ११३९, ११४०, ११४१, ११४२ आदि थिए । ती जमिनका टुक्राहरु त्यही बेला नक्कलीमाया कुटु, कृष्णलक्ष्मी कुटु, तुइलाल कुटु, कान्छीमाया कुटुले खरिद गरेका थिए । यी टुक्रा जमिनहरुको क्षेत्रफल छ रोपनी भन्दा अलिकति बढी छ । फिल्ड बुकमा खोला देखिएको कित्ता नम्बर १०१२ मा रहेको २८ रोपनी तीन आना दुई पैसा जमिन देखिएको थियो । ती मध्ये आधाजति व्यक्तिको नाममा परेको थियो । २०३७ साल फागुन २५ बिमली उपाध्यायको नाममा पारिएको थियो ।
खोलाको जमिन कसरी व्यक्तिको नाममा गयो ? नापी कार्यालय भक्तपुरका पुराना कर्मचारी प्रमोद शाह भन्छन, ‘खोलाले धार परिवर्तन गरेर व्यक्तिको जमिनमा पस्यो भने नदी उकासको जमिन ती पीडितलाई दिने निर्णय ४८ सालतिर मन्त्रिपरिषदबाट भएको थियो । त्यो अनुसार हुन सक्छ ।’
साहले अनुमान गरेभन्दा धेरै अघि नै ३१ साल वैशाख ३ गतेको निर्णयअनुसार भनेर नदी क्षेत्रको जमिन व्यक्तिको नाममा नामसारी भएको देखिन्छ ।