समाज

‘आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ’– ऊर्जा मन्त्रालय

‘आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ’– ऊर्जा मन्त्रालय
माघ–२८ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र पैसाको समेत बचत हुने भन्दै ऊर्जाले विदेश जाने काम नगर्न आग्रह गरेको थियो । तर नलसिंहगाड विकास समितिका पदाधिकारीले भने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम गरिरहेको परामर्शदाता कम्पनीले नै खर्च व्योहोर्ने भन्दै भ्रमण गर्दा उपयुक्त हुने जनाएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको नाममा अध्ययन गर्ने भए माथिल्लो तामाकोसी जान आफूले निर्देशन दिएको जानकारी दिए । ‘मेरो, ऊर्जा सचिवको समेत भ्रमण दलमा नाम राखेर प्रस्ताव आएको थियो । मैले, मेरो र सचिवज्यूको नाम भने काटिदिए । आयोजनाका अन्य पदाधिकारीलाई पनि विदेश जाने भन्दा स्वदेशमा नै निर्माण भइरहेका आयोजनामा अध्ययन गर्न भनेको छु,’ मन्त्री शर्माले भने । आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले भने नेपाल सरकारलाई कुनै पनि आर्थिक भार पर्ने गरी आफूहरुले विदेश भ्रमण गर्न नलागेको बताए । विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा भएको सम्झौता बमोजिम नै भ्रमणको मनोनयन भएको र त्यसमा कुनै पनि खर्च सरकारको नपर्ने उनको भनाइ छ । आयोजनाका पदाधिकारीले भने अमेरिकाको क्यालिफोनिर्याको भ्रमण गर्न चाहेको थियो । तर सो स्थानमा हाल हिँउ परिरहेको भन्दै अष्ट्रेलिया जाने कार्यक्रम बनाएको हो । कुल ४१० मेगावाट क्षमताको सो आयोजनालाई प्राविधिक रुपमा समेत सवल र शसक्त बनाउने लक्ष्यका साथ भ्रमणको कार्यक्रम बनाइएको कार्यकारी निर्देशक कुँवरको भनाइ छ । भ्रमणको प्रस्ताव मात्रै तयार भएको जानकारी दिँदै कार्यकारी निर्देशक कुँवरले अर्थ मन्त्रालयले स्वीकृति नदिँदासम्म भ्रमण हुननसक्ने बताए । भ्रमणदलमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, आयोजनाका अध्यक्ष शेरबहादुर शाही, कार्यकारी निर्देशक कुँवरलगायत सहभागी हुने गरी प्रस्ताव गरिएको छ । प्राविधिक क्षमता अध्ययन गर्ने शीर्षकमा आयोजना विकास समितिसँग दुई करोड बजेट रहेको छ । आयोजनाको हाल डिपीआर काम अगाडि बढिरहेको छ । आगामी वर्षभित्र डिपिआर तयार गरेर निर्माणमा जाने योजनामा नलसिंहगाड आयोजना विकास समितिले जनाएको छ । आयोजनाको पहुँचमार्ग, कर्मचारी आवास गृह तथा मुआब्जा वितरणको कार्य हाल जारी छ । राष्ट्रिय गौरवको आयोजना बनाउन प्रस्ताव जाजरकोटमा आयोजना स्थल रहेको सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । ऊर्जामन्त्री शर्माले स्थानीयवासी, राजनीतिक दल तथा सरोकार भएका सबै निकायको आग्रहअनुसार नै राष्ट्रिय गौरवको आयोजना बनाउने सम्बन्धी प्रस्ताव गरे । आयोजनालाई राष्ट्रिय गौरवको बनाउन सकिए कार्यान्वयनमा लैजान सहज हुने आयोजनाको बुझाइ रहेको छ । ‘मन्त्रीज्यूले एकदमै महत्व दिएर आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्नुभएको छ । आशा छ सबैको सहयोग भए सहज हुन्छ,’ कुँवरले भने । रासस

आयोजना अध्ययन ऊर्जा मन्त्रालय माथिल्लो तामाकोसी

विशेष