हिमालयन शेर्पा चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

माघ–२८ । चौथो उदयपुर गोल्डकप फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा विजयी हुँदै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयन क्लबले घरेलु टोली त्रियुगा नगरपालिका ११ लाई ४–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
हिमालयनको जितको लागि सुरज हमाल, मौसा कामागाटेले र विश्वास श्रेष्ठले १–१ गोल गरे भने एक गोल उपहार स्वरुप त्रियुगाले दियो । त्रियुगाको लागि भने रामु थापाले मात्र गोल फर्काए ।
खेलको ११ औं मिनेटमा हमालले हिमालयनलाई सुरुवाति अग्रता दिलाएका थिए । २२ औं मिनेटमा उदयपुरका रामुले खेल बराबरीमा ल्याएका थिए । तर त्यसलगत्तै त्रियुगाले आत्मघाती गोल गरेपछि पहिलो हाफमा हिमालयन २–१ ले अगाडि रह्यो । खेलको ७९ औं मिनेटमा हिमालयनका मौसाले तथा ८२ औं मिनेटमा विश्वासले गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।
उदयपुर गोल्डकपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ फुटबल क्लबबिच खेल हुनेछ ।
चौथो उदयपुर गोल्डकप
सेमिफाइनल
हिमालयन शेर्पा क्लब