विराट कोहलीले फिलौरीको निर्माणमा सहयोग गरेको भनेपछि अनुस्का भइन् आगो
माघ २९ । बलिउड अभिनेत्री अनुस्का शर्मा अभिनित फिल्म ‘फिलौरी’ को ट्रेलर सार्वजनिक भए लगत्तै उक्त फिल्म विभिन्न विवादमा मुछिन पुग्यो । भारतका केही सञ्चार माध्यमले फिल्म निर्माण गर्नमा अनुस्का शर्माका प्रेमी भनिएका बिराट कोहलीको भूमिका रहेको भन्ने समाचारको प्रचार गरेपछि अनुस्काले मुख खोलेकी छिन् ।
यस विषयमा आपत्ति जनाउँदै मिडियाको मुख बन्द पार्न उनले इनस्टाग्राम र ट्वीट्रमा एकैसाथ दुई पेजको स्टेटस राखेकी छिन् । उक्त स्टेसमा उनले फिल्म ‘फिलौरी’ फक्स स्टार स्टुडियोज र क्लीन स्लेट फिल्मसको संयुक्त निर्माणमा बनेको दाबी गरिन् ।
मिडियाले आफ्नो मापदण्ड मिचेर बिना प्रमाण समाचार बनाउन नपाउनेमा उनले जोड गरिन् । समाचार लेख्दा सबै तथ्य बुझेर मात्र समाचार बनाउन र जिम्मेवारपूर्वक पत्रकारिता गर्न उनले सुझाइन् । मिडियाले नचाहिदोँ समाचार बनाएर आफ्नो करियर र सम्पूर्ण फिल्मको टिममाथि नै खेलबाड गरेको अनुस्काले बताइन् ।
आफूले अहिलेसम्म आफ्नो फिल्मी करियरमा गम्भीरता र मर्यादामा बसेर काम गर्दै आएको र अहिलेसम्म मिडियामा आएका धेरै हल्लाका पछि आफू नलागेको उनले बताइन् । तर केही बोलेन भन्दैमा मिडियाले आफ्नो मौनतामाथि फाइदा उठाएको उनको दाबी छ । आफ्नो फिल्मको प्रचार र निर्माणमा आफू धेरै सक्षम भएको भन्दै उनले उक्त हल्ला र प्रचारबाजीको उत्तर दिएकी छिन् ।