महादेवको १०८ फिट अग्लो मूर्ति बनाउन र्याली

माघ - २९ । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल र्यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् ।
मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञको सन्दर्भ पारेर पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवर्द्धन उपभोक्ता समितिको संयोजनमा करिब २५० कार र ३०० मोटरसाइकलसहितको र्यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो ।
पोखराको छोरेपाटनबाट सुरु भएको र्याली विरौटा, ड्यामसाइड, सहिदचोक, फेवाताल, हल्लनचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, पृथ्वीचोक, एयरपोर्ट हुँदै स्याङ्जा कास्कीको सीमाना कुभिण्डे पुगी पुनः छोरेपाटन आएर सम्पन्न भएको थियो ।
पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पुर्याउने लक्ष्यका साथ अभियान बढेको जानकारी दिँदै समितिका संयोजक चन्द्रकान्त बरालले मूर्ति निर्माणसहितका लक्षितका काम सक्न ३५ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको बताए ।
निर्माण अभियान सफल पारी पोखरा मात्र नभएर समग्र राष्ट्रकै पर्यटकीय विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्यका साथ समिति क्रियाशील बनेको बरालले बताए। रासस
पाेखरा
महादेव मूर्ति