समाज

सचिवले लेखे सदरमुकाममा नै बसेर गाँउपरिषद्को माइन्युट

सचिवले लेखे सदरमुकाममा नै बसेर गाँउपरिषद्को माइन्युट

फागुन १ । जिल्लाको उत्तर पूर्वमा पर्ने सक्ला गाविस परिषदको माईनुट जिल्ला सदरमुकाम खलंगामा लेखिएको खुलासा भएको छ । गाविस सचिवले राजनैतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रमुख तथा प्रतिनीधिहरुलाई व्यवस्था गर्दै जिल्ला सदरमुकाम खलंगामा बसेर परिषद्को माईनुट लेखेको भन्ने चौतर्फी गुनासो बढेको छ ।

सक्ला गाविसको गणतान्त्रीक १० औ गाउँ परिषद् गत पुस २८ गते गाविसमै सम्पन्न गरिएको भएता पनि ३ लाखको बजेट खलंगामै बसेर माईनुट लेखेर सचिवले बिनियोजन गरेको स्थानियहरुले आरोप लगाएका छन् । रु ३ लाख बाहेकको अन्य बजेट गाविस परिषद्द्वारा बिनियोजन गरिएको भएता पनि ३ लाख रुपैया लुकाएर गाविस सचिवले परिषद्लाई छलेको उनीहरुको आरोप छ ।

गतबर्ष सम्पन्न गाउँ परिषदले २४ लाखको बजेट बिनियोजन गरेको भएता पनि ५ लाख रुपैया स्वीकृत भएर आएपछि ३५ लाख रुपैया पनि खलंगामै बसेर सचिवले मनोमानी रुपमा बिनियोजन गरेको सक्ला–२ का मोहन सिंहले आरोप लगाएका छन् । गाविसबोर्डमा रहेका बिषयगत कार्यालयका प्रतिनीधिलाई पनि जानकारी नहुने गरि सचिवले बजेट बिनियोजन गर्ने गरेको भेटनरी जेटिए गोविन्द सिंहले जानकारी दिए ।

चालु आर्थिक बर्षका लागि स्वीकृत ३५ लाख रुपैया, यसबर्ष सम्पन्न गाउँ परिषद्को ३ लाख रुपैया खलंगा कोटा भित्र बसेर सचिवले बजेट बिनियोजन गरेको भन्ने लिखित उजुरी जिल्ला बिकास समितिको कार्यालयमा परेको योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रशाद खनालले जानकारी दिए ।

जिविसमा परेको लिखित उजुरीलाई आधार बनाएर तत्काल गाविस सचिवलाई जिविसमा बोलाएर लिखित रुपमा स्पष्टीकरणको माग गर्ने र चित्त बुझ्दो जवाफ नआए कारवाहीको प्रक्रियालाई अगाडी बढाउने अधिकृत खनालले बताए ।

गाविस सचिव ठगेन्द्र गिरी र सेपुखोला स्वास्थ्य चौकी इन्चार्ज बीरराज सिंहको मिलेमतोमा यस्तो भएको स्थानियहरुको आरोप छ ।

Khaklanga

विशेष