समाज स्वास्थ्य

पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै
फागुन–१ । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै आएको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत गत पुस ११ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । पाल्पामा सात हजार नागरिकले स्वास्थ्य बिमा गरेका छन्। हालसम्मको तथ्याङ्कअनुसार दुई हजार ५४९ महिला र दुई हजार दुई सय चार पुरुषको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा सङ्कलन भइसकेको र बाँकीको तथ्याङ्क पनि दर्ता सहयोगीमार्फत आउने क्रममा रहेको बिमा कार्यक्रमका जिल्ला प्रबन्धक नारायणप्रसाद पौडेलले जानकारी दिए । स्वास्थ्य बिमाका लागि ८२ कर्मचारीलाई कार्यालयले परिचालन गरिरहेको छ। पुस मसान्तभित्र बिमा दर्ता गरेका नागरिकले फागुन १ गतेबाट निःशुल्क स्वास्थ्य सेवा पाउने र पुस मसान्तयता दर्ता गरेकाले आउँदो जेठ १ गतेबाट सेवा पाउने व्यवस्था रहेको पौडेलले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाबासीलाई दर्ता प्रक्रिया असहज नहोस् र उपचारमा कठिनाई नहोस् भन्ने उद्देश्यले कार्यालयले जिल्लाका छ स्थानमा सहयोगी प्रदायक संस्थामार्फत सेवा दिँदै आइरहेको छ। जसअन्तर्गत पाल्पा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, लुम्बिनी अञ्चल अस्पताल, रामपुर अस्पताल, खस्यौली प्राथमिक स्वास्थ्य चौकी र ताहुँ प्राथमिक स्वास्थ्य चौकीमार्फत सेवा उपलब्ध गराइएको हो । प्रत्येक एक एक वर्षमा प्रति घरपरिवारले रु दुई हजार ५०० तिरेर नवीकरण गर्नुपर्ने संस्थानको नियम छ । नेपाल सरकारले पहिलो चरणमा बागलुङ, कैलाली र इलाम, दोस्रो चरणमा यस आर्थिक वर्षदेखि पाल्पासहित कास्की, म्याग्दी, अछाम र बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । रासस

पाल्पा स्वास्थ्य बिमा

विशेष