समाज

बैतडीमा पाँच हजारले लिए गाउँमै सरकारी सेवा, ८० वर्षीया वृद्धाले पाइन् नागरिकता

बैतडीमा पाँच हजारले लिए गाउँमै सरकारी सेवा, ८० वर्षीया वृद्धाले पाइन् नागरिकता
फागुन–१ । बैतडीको तल्लासोराडमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा पाएपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकका साथै स्थानीय बासिन्दा खुसी भएका छन् । बैतडीको मेलौली गाविस– ८ खोचा निवासी ८० वर्षीया द्रौपती चन्दले जीवनको उत्तरार्धमा आफ्नै गाउँमा नागरिकता पाउँदा निकै खुसी लागेको बताइन् । द्रोपतीजस्तै आम्चोरा– ८ की रुक्मा चन्दले पनि ७८ वर्षको उमेरमा शिविरमा नागरिकता पाएपछि खुसी लागेको बताइन् । एक हप्ताअघि जङ्गली बँदेलको आक्रमणबाट घाइते भएका पञ्चेश्वर– १ पालडीका ३४ वर्षीया सुरेशसिंह भुलले पनि एकीकृत घुम्ती शिविरमै नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । विभिन्न कारणले सदरमुकामसम्म आउन नसक्ने नागरिकलाई एकीकृत घुम्ती शिविरले निकै फाइदा पुर्‍याएको कुलाउ माविका प्रधानाध्यापक गोरखबहादुर चन्दले बताए । सम्पूर्ण सरकारी सेवा गाउँमै माघ २५ गतेदेखि दुर्गम तल्लोस्वराडको कुलाउ तथा मेलौलीमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरवाट तल्लोस्वराडका ५ हजार जना सर्वसाधारणले सरकारी सेवा लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । तल्लोस्वराडका एक हजार ४७१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र, एक हजार ५०० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, जिल्ला आयुर्वेदिक औषधालयबाट दुई सय ३१ जनाको स्वास्थ परीक्षण तथा औषधि वितरण, जिल्ला स्वास्थ्य कार्यालयबाट एक सय २० जनाले अल्ट्रासाउन्ड सेवा, ३९ महिलाको पाठेघरको जाँच तथा ३५ महिलाले मिनिल्याप सेवा लिएका थिए । यस्तै शत्रुमर्दन गुल्मबाट नेपाली सेनाको टोलीले सञ्चालन गरेको स्वास्थ्य परीक्षणबाट दुई सय ४० जनाले सेवा लिएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताए । शिविरबाट तल्लोसोराडका महाकाली, पञ्चेश्वर, विशालपुर, कुलाउ, आम्चोरा, रोडीदेवल, महारुद्र, मेलौली, सलेना, उदयदेवलगायतका गाविसका नागरिकले सेवा लिएका थिए । गाउँमै सरकारी सेवा लिन पाउँदा दुर्गम तल्लोस्वराडका स्थानीय बासिन्दा हर्षित भएका छन् ।

बैतडी सरकारी सेवा

विशेष