समाज

भूकम्पको २१ महिना : खोटाङमा पुनःनिर्माणका लागि आधा सर्वेक्षण सकियो

भूकम्पको २१ महिना : खोटाङमा पुनःनिर्माणका लागि आधा सर्वेक्षण सकियो

फागुन २ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ ।

एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको हो ।

भूकम्पपीडितको लगत सङ्कलनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएका ३४ जना इन्जिनियरमध्ये १८ इन्जिनियरले आफ्नो काम पूरा गरेको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख शिवनारायण महतोले बताए । ‘अठार इन्जिनियरले आफ्नो काम पूरा गरेको क्लियरेन्स लिइसकेका छन’, उनले भने ‘बाँकी दश प्रतिशत गाविसमा पनि लगत संकलन काम धमाधम भइरहेको छ ।’

जिल्लाका १३ हजार ७ सय ९९ पीडितमध्ये हालसम्म दश हजार ६०० बढी भूकम्पपीडितको लगत सङ्कलन र प्रमाणीकरणका काम सकिएको महतोले जानकारी दिए । भूकम्प गएको १९ महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षणका काम सुरु गरिएको हो ।

कतिपय भूकम्पपीडितको नाम दोहोरिएको, एउटै परिवारको क्षति दुई जनाको नाममा परेकोलगायतका कारण भूकम्पपीडितको नाम केही घट्ने अनुमान गरिएको छ । पीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सकिएलगत्तै अनुदान सम्झौताको काम तत्काल सुरु गरिने जनाइएको छ ।

सर्वेक्षणमा खटिएका इन्जिनियरले भूकम्पपीडित भनिएका घरमा पुगेर भूकम्पपीडितलाई एकदेखि पाँच वर्गमा वर्गीकरण गर्ने र तीनदेखि पाँच वर्गमा पर्ने लाभग्राहीलाई मात्र अनुदान उपलब्ध गराइने महतोले बताए । गाविस सचिवमार्फत अनुदान सम्झौता गरेर जिविसमार्फत कोलेनिकामा पठाइएपछि चेक तयार पारेर अनुदान सम्झौता, नागरिकता र फोटोसहित बैंक पुगेका पीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र अन्तिममा रु एक लाख गरी तीन लाख अनुदान पाउने छन् ।

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम १३ दिन ढिला गरी पुस २८ गतेदेखि सुरु गरिएको थियो । यसअघि नै बनिसकेका घर तथा राहत पाइसकेका पीडितलाई पनि मापदण्ड पुगे अनुदान प्रदान गरिने जनाइएको छ ।

khotang

विशेष