देश

अमेरिकास्थित नेपाली राजदूतावासले नेपालीलार्इ सहयोग नगरेको गुनासो

अमेरिकास्थित नेपाली राजदूतावासले नेपालीलार्इ सहयोग नगरेको गुनासो
फागुन–२ । सन् २०१६ मे १९ मा अमेरिकाको टेक्सासमा रुसल श्रेष्ठको दुर्घटनामा परी दुखद निधन भयो । त्यस्तै जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो । त्यसैगरी अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६ नोभेम्बरमा निधन भयो । उता दुई महिना अघि एट्लान्टा राज्यमै एकै परिवारका चारजना नेपालीको कार दुर्घटनामा ज्यान गयो । अमेरिकामा पछिल्लो समय नेपालीले विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । तर अमेरिकास्थित नेपाली दूतावासले नेपालीको पीडामा कुनै चासो नै नलिने गरेको अमेरिकामा बस्ने नेपालीकाे गुनासो छ । नेपालीले ज्यान गुमाउँदा उक्त ठाउँमा गएर समवेदना दिनुको साटो दूतावासका जिम्मेवार पदाधिकारीले फोन नै नउठाउने गरेको आरोप उनीहरुको छ । नेपालीको दु:खद निधन हुँदा सम्बन्धित ठाउँमा गई शव नेपाल पठाउन दूतावासले पहल गर्नुपर्ने स्वाभाविक प्रक्रिया हो । तर, शव नेपाल पठाउन पहल गर्नाको साटो कुनै दयित्वबोध समेत नगरेको पीडितको गुनासो छ । गत जुलाई १ तारिखका दिन आफ्नो भाइ किरण लामिछाने गुमाएका दाइ कृष्ण लामिछानेले घटनालगत्तै कागजी प्रक्रिया मिलाउन पटक–पटक फोन गर्दा पनि दूतावासले फोन नउठाएको गुनासो गरे । नेप्लिज सोसाइटी टेक्सासका अध्यक्षसमेत रहेका लामिछानेले भने–“अमेरिको नासामा साइन्टिस्ट रहेको मेरो भाइको दुर्घटनामा परी निधन भइसकेपछि मैले शव नेपाल पठाउनु पर्‍यो भनेर दूतावासका अधिकारीलाई धेरै फोन गरेँ तर फोन उठेन । मैले १९ पटकभन्दा बढी कल गरेँ कुनै ‘रेस्पोन्स’ भएन यसमा असाध्यै दुःख लाग्यो।” आफ्नो भाइको शवमात्रै नभई निशा कार्की र रुसल श्रेष्ठको समेत शव नेपाल पठाउन कैयौँपटक दूतावासमा पहल गरेको लामिछानेले बताए । अमेरिकामा नेपालीको निधन भएपछि त्यहाँको राज्यले मुत्यु सर्टिफिकेट दिन्छ, त्यसपछि नेपाली राजदूतावासले ‘रियल स्ट्याम’ लगाउनु पर्छ, त्यसका लागि पनि हप्तौँसम्म लाग्ने गरेको छ । गत माघ २४ गते काठमाडौँमा सिँचाइ मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष लामिछानेले मन्त्रीकै सामु नेपाली दूतावासका जिम्मेवार पदाधिकारीले सहयोग नगरेको गुनासो गरेका थिए । जवाफमा मन्त्री गिरीले राजदूतावासको भूमिकाबारे आफूले कुरा उठाउने बताएका थिए । उक्त कार्यक्रममा स्व निशा कार्कीको परिवारलाई ४५ लाख रुपैयाँ सहयोग गरिएको थियो । दूतावासले एयरलाइन्ससँग सम्पर्क गरी शव पठाउन कागजी प्रक्रिया मिलाइदिए सहज हुने पीडितको भनाइ छ । अध्यक्ष लामिछानेका अनुसार गएको एक वर्षमा मात्रै टेक्सासमा १२ नेपालीको दुर्घटनामा परी निधन भएको छ । जस्मा जम्मा दुईवटा शवमात्रै नेपाल ल्याउन सकिएको छ । अमेरिकामा जो कोही नेपालीको निधन भए पनि निधन भएको व्यक्तिका सम्बन्धमा दूतावासले कागजात प्रमाणित नगरेसम्म शव नेपाल ल्याउन पाइँदैन । तर अहिले दूतावासले समस्यामा परेका नेपालीका विषयमा कुनै सोधखोज नै नगर्ने गरेको गुनासो नेपालीको छ । यता परराष्ट्रमन्त्रालयले भने नेपालीको पीडामा स्वाभाविक रुपमा दूतावासले सहयोग गर्नुपर्ने र गर्दै आएको पनि बताएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपाली नागरिकलाई परेको पीडामा स्वाभाविक रुपमा दूतावासले सहयोग गर्ने बताउँछन् । “दूतावासले सहयोग नगरेको भन्ने हुनै सक्दैन त्यसबारे केही औपचारिक जानकारी आएको छैन, नेपाली नागरिक हो, भने उनीहरुको हकमा कन्सुलर सपोर्ट दिन, कागजी र कानुनी प्रक्रिया मिलाई शव पठाउन भूमिका निर्वाह गर्नुपर्छ र गर्दै पनि आएको छ” – उनले भने । कुनै पनि नेपालीको निधन भएको खण्डमा अमेरिकास्थित सामाजिक सङ्घसंस्थाको समन्वय र पहलमा दूतावासले शवको कागजी प्रक्रिया मिलाएर सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग गर्ने गरेको अधिकारीहरु बताउँछन् । पछिल्लो आँकडाअनुसार हाल अमेरिकामा करिब चार लाख ५० हजार नेपाली छन् । तीमध्ये टेक्सासमा ७० हजारभन्दा बढी नेपाली रहेको बताइन्छ । अन्यत्र भन्दा टेक्सासमै बढी नेपालको दुर्घटनामा परी निधन भएको छ । रासस

अमेरिका नेपाली नेपाली राजदूतावास

विशेष