आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे, विश्वभर मनाईँदै
फागुन ३ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् ।
नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।
आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
Valantain Day