समाज

६९ कर्मचारीमाथि कारबाहीको सिफारिस

६९ कर्मचारीमाथि कारबाहीको सिफारिस
फागुन - ३ । राष्ट्रिय सतर्कता केन्द्रको टोलीले धनगढीका सरकारी कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोसाक नलगाउने ६९ जना कर्मचारीमाथि कारबाहीका लागि सिफारिस गरेको छ। विभिन्न ३० वटा कार्यालयमा दुई दिनसम्म गरिएको छड्के अनुगमनका क्रममा टोलीले कार्यालय समयमा अनुपस्थित रहने ५७ र तोकिएको पोसाक नलगाएका १२ जना पाइएकाले उनीहरुमाथि कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव यमप्रसाद भुसालले बताए। अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहनेमा सबैभन्दा बढी सेती अञ्चल अस्पतालका २५ र त्यसपछि मालपोत कार्यालय कैलालीका १२ जना कर्मचारी रहेका छन्। केन्द्रको टोलीले मालपोत, नापी, जिल्ला जनस्वास्थ्य, जिल्ला वन, भूमिसुधार, नेपाल विद्युत् प्राधिकरण, कोष तथा लेखा नियन्त्रण, नेपाल टेलिकम, जिल्ला शिक्षा र सेती अञ्चल अस्पताललगायतका कार्यालयमा छड्के अनुगमन गरेको थियो। यसैबीच सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ विषयक अन्तरक्रियामा भ्रष्टाचारको रोकथामका सवालमा सतर्कता केन्द्रले आफ्ना क्रियाकलापलाई औपचारिकतामा मात्रै सीमित राख्न नहुनेमा सहभागीले जोड दिएका छन्। उनीहरुले केन्द्रलाई अनुगमन, सुपरिवेक्षण र प्रतिवेदन दिने संस्था मात्र नबनाई भ्रष्टाचार गर्नेमाथि कारबाही गर्ने सम्मको अधिकार दिन सके सभ्य र अनुशासित समाज निर्माण हुने बताए। सो अवसरमा केन्द्रका उपसचिव सरिता रायमाझीले केन्द्रको गतिविधि लक्ष्य, उद्देश्य र अर्का उपसचिव यमप्रसाद भुसालले भ्रष्टाचार हुने कारण र रोकथाम लगायतका विषयमा प्रकाश पारेकी थिए। केन्द्रको सिफारिसमा आर्थिक वर्ष २०७२÷७३ मा सम्पत्ति विवरण नबुझाउने निजामती कर्मचारी, प्रहरी, सैनिक, शिक्षक र अन्य समेत गरी १९ हजार दुई सय १३ कर्मचारीमाथि कारबाही भएको बताइएको छ । भ्रष्टाचारजन्य कामलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउन भ्रष्टाचार निवारण ऐनअनुसार विसं २०५९ मा राष्ट्रिय सतर्कता केन्द्रको स्थापना गरिएको हो । केन्द्रले भ्रष्टाचार विरुद्धको निरोधात्मक र प्रवद्र्धनात्मक कार्य गर्दै आएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्वेक्षणमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा पर्ने गरेको बताइन्छ ।

कर्मचारी

विशेष