सेनाका पूर्वउपरथीहरु भन्छन्, ‘रुक्मांगत कट्वाल नेपाली इतिहासमै एक कलंक बनेर रहनेछन्’
फागुन ४ । एक पूर्वउपरथीले पूर्वप्रधानसेनापति रुक्मांगत कट्वालका सम्बन्धमा भने, ‘कट्वाल नेपाली सेनाका यस्ता दुःखद पात्र हुन् जसले सेनामा भारत पसाए । तर पनि यी किताब निकाल्दै हिँडछ्न । पाता कसेर कोर्ट मार्सलमा उभ्याउनु पर्ने हो यीनलाई ।’
अर्को एक उपरथीले त कट्वालका सम्बन्धमा अझै तल्लो स्तरको टिप्पणी गरे । तल्लो स्तरको शब्द हटाउँदा उनको टिप्पणी यस्तो थियो, ‘नेपाली सेनामा कट्वाल जति घृणीत कर्म गर्ने अरु कोही छैनन् । यीनले सेनालाई बरबादीमा लगे ।’
जब रुक्मांगत कट्वाल प्रधानसेनापतिबाट निवृत्त हुँदै थिए त्यसबेला माधवकुमार नेपालको सरकार थियो । सेप्टेम्बर महिनामा कट्वाल निवृत्त हुँदै थिए । त्यस अघि कट्वालले जुन महिनमा प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेका थिए । त्यो भेटमा कट्वालले आफ्नो सेनापतिको म्याद बढाइदिन कुनै आग्रह गरेनन् । उनी सोझै पुगे दिल्ली । दिल्लीमा उनले तत्कालीन विदेश सचिव शिवसंकर मेननसँग भेटे । मेननले त्यो बेलाकी अमेरिकी राजदूत नेन्सी जे पावेलसँग के कुरा गरे ? कट्वालका विषयमा मेननले के भने भन्ने विषय विकिलिक्सले पहिले नै सार्वजनिक गरेको थियो । विकिलिक्सको सूचनाअनुशार कट्वालले नेपालको एक मात्र संरक्षककर्ता आफू हुँ भनेका थिए । त्यसकारण प्रधानसेनापतिको म्याद थपका लागि कट्वाल मेननको शरणमा पुगेका थिए । तर विदेश सचिव मेननले प्रधानसेनापतिको म्याद थप गर्दा त्यसलाई भारतले स्वागत नगर्ने जवाफ दिएर फर्र्काएका थिए ।
त्यो बेला माओवादीले आफ्ना छापामारलाई एकमुष्ठ सेनामा प्रवेश गराउन पहल गरिरहेको थियो । तर भारतले एकमुष्ठ होइन केही हजारमा त्यो पनि व्यक्तिगत क्षमताका आधारमा मात्रै प्रवेश हुन सक्ने धारणा राखेको थियो । नभन्दै पछि त्यस्तै भयो ।
अमेरिकी राजदूत पावेलले आफ्नो सरकारलाई पठाएको त्यो पत्रमा भारतले नेपालका मोहन वैद्य र प्रधानसेनापति कट्वाल उस्तै कडा धारका भएको विश्लेषण गरेको थियो । उनीहरु बोलीमा कडा र राष्ट्रको पक्षमा जस्तो कुरा गर्ने तर आफ्नो हित बाहेक केही पनि नसोच्ने र नगर्ने पात्रहरु हुन् भन्ने भारतको बुझाइ थियो ।
त्यसअघि नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई हटाउने पत्र बुझ्न सिंहदरबार बोलाएका थिए । कटवालले बर्खास्तीको पत्र सिंहदरबारमा बुझ्न मानेनन्, जङ्गी अड्डामा बुझाउँनु भने । जङ्गी अड्डा पुगेपछि नजिकैको सर्वोच्व अदालत पुगेनन् । देशी विदेशी मित्रहरुलाई फोन गरेको उनले आफ्नै आत्मवृत्तान्तमा लेखेका छन् ।
सँगै सैन्य तालिम लिएका भारतीय सनाध्यक्ष दीपक कपुरमार्फत उनले भारतीय संस्थापन पक्षसँग सम्बन्ध स्थापित गरेका थिए । विदेशमन्त्री रहेका प्रणव मुखर्जीले भारतमा एउटै कलेजमा पढ्दा चिनापर्ची भएका रामबरण यादवलाई पटक पटक फोन गरका थिए । यादवलाई फोन गरेर कटवालले थमौतिपत्र नदिएपनि जङ्गी अड्डा नछोड्ने, बाँकी तपाई नै बुझ्नोस भनेर धम्कीपूर्ण भाषा बोलेका थिए । यो उनकै आत्मवृत्तान्तमा छ ।
सेनापति प्रकरणमा छत्रमान गुरुङको साथ लिएका कटवालले कुलबहादुर खड्काले अवकास लिएपछि गुरुङलाई सेनापति हुन नदिन अनेक चाल चलेका थिए । गुरुङको जन्ममितिमाथि छानबिन समेत गर्न लगाएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग अवकासपछि पनि निरन्तरता दिन उनले जिहजुरी गरेको र कटवालको कुरा सुन्न नसकेर नेपालले भोजबाट नबोली हिडेको भनेर छत्रमान गुरुङले लेखेका छन् ।
कटवालले गिरिजाप्रसाद कोइरालाले आफुलाई सैन्य कू गर्न आग्रह गरेको भनेर आत्मवृत्तान्तमा लेखेका छन् । कोइरालाले परिस्थिति आफुले नियन्त्रणमा लिन सक्ने स्थिति नरहेको भन्दै कूका लागि आफूसँग आग्रह गरेको तर आफुले नमानेको पनि लेखेका छन् ।
म्याद थपमा दिल्लीले स्वीकृति दिएको भए कटवाल सेनाको परम्परा विपरित उमेर हद कटेपछि पनि सेनापति बन्न चाहेका देखिन्छ । आत्मवृत्तान्तमा भने उनले पहिलो जनजातिलाई प्रधानसेनापति बनाउन आफू आतुर रहेको भनेर लेखेका छन् । कटवालको खण्डन गर्दै गुरुङले आफुलाई छेक्न कटवालले हदैसम्मको प्रयास गरेको स्पष्ट उल्लेख गरेका छन् ।
कटवालको उमेर सम्बन्धी म्याद सर्वोच्च अदालतमा बर्षौ चलिरह्यो । पेशीमा पालो आएनमा परिरहने सो मुद्धा पछि धकेल्ने दिल्लीले प्रत्यक्ष भूमिका निर्वाह गरेको थियो ।
कटवालका कारण सेनामा राजनीति र भारत हावी भएको भनेर टिप्पणी ब्याप्त छ । धेरैले सार्वजनिकरुपमा नभनेपनि अनौपचारिक कुरामा यो सन्दर्भमा खुलेर कुरा गर्छृन् । पूर्वउपरथी राजेन्द्र थापाले कटवालले भारतसँग म्याद थपका लागि अनधिकृत रुपमा हार गुहार गरेको विषयमा लेखमार्फत आलोचना गरेका थिए ।