नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प हुँदै
फागुन–४ । नेपालमा एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टको आयोजनामा एसी मिलान जुनियर फुटबल क्याम्प सञ्चालन गर्ने भएको छ । इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’ को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सञ्चालन हुन लागेको हो ।
क्याम्प सञ्चालन आगामी चैत ८ गतेदेखि एक सातासम्म भक्तपुरस्थित मध्यपुर युथ एसोसिएसन क्लबको मैदानमा हुनेछ । एसी मिलानको एकेडेमीमा प्रशिक्षण गराइरहेका प्रशिक्षकहरुबाट फुटबल प्रशिक्षणका साथै अरु व्यावहारिक तथा सैद्धान्तिक शिक्षा नेपाली युवा खेलाडीहरुलाई प्रदान गरिने जनाइएको छ ।
क्याम्पमा सहभागी हुन चाहने खेलाडीले आगामी फागुन १७ गतेभित्र ३० हजार रुपैयाँ शुल्कसहित नाम दर्ता गराउनु पर्नेछ ।
क्याम्पमा नेपाली युवा खेलाडीले प्रशिक्षण गर्न पाउँदा नेपाली फुटबललाई फाइदा पुग्ने र उक्त क्याम्पले सफलता पाए आगामी दिनमा यूरोपका अन्य चर्चित क्लबहरुबाट पनि प्रशिक्षण क्याम्प ल्याउन प्रयास गरिने आयोजक एट्लान्टिक स्पोर्टस म्यानेजमेनटका सन्चालक हरि खड्काले बताएका छन् ।
एसी मिलान जुनियर फुटबल क्याम्प
नेपाल