खेल

इलामको बरबोटेमा कभर्ड हल निर्माण हुँदै

इलामको बरबोटेमा कभर्ड हल निर्माण हुँदै
फागुन–५ । जिल्लामा खेलकुदका गतिविधि सुस्त हुन थालेपछि इलामको बरबोटेमा डेढ करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भइरहेको छ । एक वर्षदेखि धमाधम निर्माण भइरहेको कभर्ड हलको दोस्रो चरणको काम भइरहेको छ । क्रिकेट, टेबुलटेनिस लगायतका भित्री खेलका प्रतियोगिता सञ्चालन गर्न सकिने कभर्ड हल निर्माणका लागि जिल्ला खेलकुद विकास समितिले क्रमागत रूपमा १० लाख, माइभ्याली फुटवल क्लब इलामले १५ हजार र बरबोटे गाविस कार्यालयले पाँचलाख ४५ हजार रुपैयाँ उपलब्ध गराएको तथा अन्य स्थानबाट पनि सहयोग आउने आश्वासन पाएको निर्माण समितिका कोषाध्यक्ष तीर्थ जवेगूले जानकारी दिए । कभर्ड हलको एकसय १७ फिट लम्बाई, ५७ फिट चौडाइ र ३५ फिट उचाइ रहने जनाइएको छ । भवन एकतले र त्यसभित्र चारवटा कोठा रहने समितिले जनाएको छ जसमा दुई कोठामा बास्केटबल र फुटसल र अन्य दुईवटा कोठामा विभिन्न खेल प्रयोजनमा प्रयोग हुने समितिका कोषाध्यक्ष जवेगूले जानकारी दिए । हलमा एकहजारदेखि एकहजार पाँचसयसम्म दर्शक अट्न सक्नेछन् । स्थानीय र विभिन्न सङ्घसंस्थाको सहयोग पाइरहेकाले विसं २०७५ सालभित्र निर्माण कार्य सकेर प्रयोगमा ल्याउने लक्ष्य रहेको निर्माण समितिले जनाएको छ । कभर्ड हल अभावकै कारण फुटबल बाहेकका राष्ट्रियस्तरका प्रतियोगिता इलाममा आयोजना गर्न कठिनाइ भएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाका पूर्वअध्यक्ष सटेन्द्र जवेगु बताउँछन् । जिल्लामा पर्याप्त र स्तरीय कभर्ड हल नभएकै कारण हालैको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामका कराँते, उसु, टेबलटेनिस लगायतका खेलाडीले राम्रो तयारी गर्न नसकेको निर्माण समितिले जनाएको छ । सदरमुकामको सानो कभर्ड हल सबै खेलका लागि पर्याप्त र स्तरीय नभएकाले बरबोटेमा कभर्डहल निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले बताए । रासस

इलाम कभर्ड हल

विशेष