समाज

मोरङमा चितुवाको आक्रमणबाट चार घाइते

मोरङमा चितुवाको आक्रमणबाट चार घाइते
फागुन–५ ।  मोरङ राजघाटमा विहीबार बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् । राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ८ बजे हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासि आक्रमण गरेको घाइते टङ्कलालले बताए । टङ्कलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताए । रासस

आक्रमण चितुवा मोरङ

विशेष